१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

महिला भलिबल खेलाडीलाई ३ लाख नगदसहित सम्मान



काठमाण्डौ
सरकारले राष्ट्रिय महिला भलिबल टिमका खेलाडीलाई जनही ३ लाख नगदसहित सम्मान गरेको छ । बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेता राष्ट्रिय महिला भलिबल टिमलाई मंगलबार काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरी सरकारले नगदसहित सम्मान गरेको हो ।
कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले खेलाडीहरुलाई जनही ३ लाख नगद प्रदान गर्नु भएको थियो भने युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले सम्मानपत्र प्रदान गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै युवा तथा खेलकुदमन्त्री विश्वकर्माले त्यस टोलीले १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा पनि स्वर्ण पदक जितेर नेपालको खेल क्षेत्रको सानलाई अझै माथि उठाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले देशको प्रतिष्ठा र गरिमालाई उचाइमा पुर्‍याउने गरी नेपाली खेलाडीहरुले साग प्रतियोगिताको तयारी गरिरहेको पनि बताउनुभयो ।
सरकारले बंगलादेशमा ऐतिहासिक उपाधि जितेलगत्तै नेपाली महिला टिमलाई जनही ३ लाखका दरले पुरस्कृत गर्ने घोषणा गरेको थियो । गत कात्तिक २८ गते भएको फाईनलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै नेपालले पहिलो ऐतिहासिक अन्तर्राष्ट्रिय उपाधि जितेको थियो ।
महिला भलिबल टिमले जितेको यो उपाधि नेपालको पहिलो अन्तर्राष्ट्रिय उपाधि हो ।

प्रकाशित मिति : १० मंसिर २०७६ मंगलबार ००:००  २ : २५ बजे