१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

पाचौं राष्ट्रिय उद्योग दिवसमा कपिलवस्तुका ५ जना महिला उद्यमी सम्मानित



मायादेवी अनलाइन, तौलिहवा ।
पाचौं राष्ट्रिय उद्योग दिवसमा ५ जना महिला सहित ६ जनालाई सम्मानित गरिएको छ । घरेलु तथा साना उद्योग संचालन गरेर नमुना काम गरे बापत सोमबार तौलिहवामा उनीहरुलाई दोसल्ला ओढाएर सम्मानित गरिएको हो ।
सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख नारायण प्रसाद खनाल र बिष्णु प्रसाद ज्ञवालीले उनीहरुलाई रातो टीका र दोसल्ला ओढाएका थिए । ढाका उद्योग तर्फ बाणगंगा नगरपालिकाकी लक्ष्मी सारु, ब्लक उद्योगमा फुल कुमारी श्रेष्ठ, दुना टपरीमा बुद्धभूमि नगरपालिकाकी भीमा पोख्रेल सम्मानित भएका छन । यस्तै डल कुसन उद्योग तर्फ बुद्धभूमि नगरपालिका कै रिता थापा, अगरत्ती उद्योगमा शान्ति गुप्ता र फर्निचरमा बाणगंगा नगरपालिकाका दिल बहादुर श्रेष्ठ सम्मानित भएका थिए ।
सो अवसरमा समन्वय समितिका प्रमुख खनालले कृषि प्रधान देश अब उद्योग धन्दा तर्फ उन्मुख भएको बताए । उनले देशलाई सम्बृद्ध बनाउन भाषण होईन उद्योग कलकारखाना स्थापना गर्नुु पर्ने बताए । उनले देश नयाँ ढंगले अघि बढेकोले सोचमा परिवर्तन ल्याउनुपर्ने बताए ।
सो अवसरमा बिष्णु प्रसाद ज्ञवालीले सरकारले उद्योग कलकारखाना खोल्न ब्यापारी मैत्री कानुन निर्माण गर्नु पर्ने बताए ।
कार्यक्रममा तौलिहवा उद्योग बाणिज्य संघका अध्यक्ष गयादीन कुर्मी, कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष उमानाथ पौडेल, बुद्धभूमि उद्योग बाणिज्य संघका अध्यक्ष शुभलाल भुसालले लागनी बढाउन सरकारले लगानी मैत्री कानुन बनाउनु पर्ने बताए ।
कार्यक्रममा घरेलु कार्यालयका प्रमुख राजन केसीले ५ लाखसम्मको पूँजी भएको उद्योग ब्यवसायलाई स्थानीय तहले दर्ता र नविकरण गर्न सक्ने गरी कानुन निर्माण भएको बताए । उनले बर्षौ देखि नबिकरण नभएका ब्यवसायलाई एक पटकका लागि तेब्बर जरिबाना तिरेर आफनो ब्यवसाय नविकरण गर्न सक्ने गरी प्रावधान बनाइएको बताए ।
अहिले सम्म घरेलु कार्यालयमा ५६ सय ५५ साना उद्योग, ३७ घरेलु र २ सय २ लघु उद्योग दर्ता भएको कार्यपत्र मार्फत जानकारी गराएका थिए । साझेदारी फर्म ९ हजार ९१६ र साझेदारी फर्म ४५ छन् ।
घरेलु कार्यालयका प्रमुख केसीको अध्यक्षता, रामचन्द्र अर्यालको संचालनमा भएको कार्यक्रममा पबित्रा भट्टराई, फुल कुमारी श्रेष्ठ लगायतले मन्तब्य दिएका थिए ।

प्रकाशित मिति : ९ मंसिर २०७६ सोमबार ००:००  ९ : ०९ बजे