११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

देउवा भाषण प्रकरणः ‘विक्षिप्त नभएको सामान्य मान्छेले बोल्न सक्ने भाषा हैन्ः’ प्रचण्ड



चितवन ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सीमा समस्याका विषयमा प्रधानमन्त्री ओलीलाई आरोप लगाउँदै पोखरामा हालै बोलेको वाक्य प्रति कडा आपत्ति जनाएका छन् ।
भरतपुर महानगरपालिका–१६ को चुनावी सभामा बोल्दै दाहालले भने, ‘त्योभन्दा अनैतिक र झुठो अभिव्यक्ति केही हुनसक्दैन । त्यो विक्षिप्त नभएको सामान्य मान्छेले बोल्न सक्ने भाषा हैन ।’
कांग्रेस सभापति देउवाले पोखरामा बोल्दा भारतले प्रधानमन्त्री ओलीसँग सल्लाहा गरेर कालापानी र लिपुलेक भारतमा समावेश गरेको नक्सा प्रकाशित गरेको आरोप लगाएका थिए । नेता दाहालले सो नक्सा प्रकाशित भएपछि प्रधानमन्त्रीले डाँकेको सर्वदलीय बैठकको स्मरण गराए ।

‘त्यो बैठकमा देउवाजीले पनि बोल्नुभयो । सरकारले जुन अडान लिएको छ त्यसमा हाम्रो साथ र समर्थन छ भन्नुभएकै हो,’ नेता दाहालले भने । निर्वाचन हार्ने संकेत पाएर अत्तालिएपछि देउवाले प्रधानमन्त्रीलाई गाली गर्न थालेको दाहालले बताए ।
‘सर्वदलीय बैठकमा देउवाले प्रधानमन्त्रीलाई म तपाईंको साथमा छु भन्नुभयो । तर अहिले भारत सरकारसँग सल्लाहा गरेर नक्सा छाप्न लगाएको हो भन्न थालेपछि नेपाली कांग्रेसका नेता साथीहरु अलि धेरै नै अत्तालिएको देखिन्छ,’ दाहालले भने । उनले चुनावका मुखमा गरिने यस्ता ‘उट्पट्याङ, र अनैतिक’ कुरा जनताले नपत्याउने बताए । दाहालले भने, ‘सायद नेपाली कांग्रेसका साथीहरुले आफ्ना पार्टीका नेताले यही कुरा नबुझेर यो गती भएको होला कि भनेर आत्मसमिक्षा गर्नु उचित हुने छ ।’

आउँदो मंसिर २४ गते हुने उप–चुनावमा सत्तारुढ नेकपाले ८० प्रतिशत स्थानमा जित हासिल गर्ने दाहालले दाबि गरे । ‘त्यसैले नेपाली कांग्रेसका साथीहरु धेरै नआत्तालिनु, चुनाव नकपाले जितिसकेको छ । तपाईंहरुले बेकारमा पैसा खर्च नगर्नुस्,’ दाहालले भने ।

स्थानीय तह निर्वाचनमा भरतपुर–१६ मा तत्कालिन एमालेका उम्मेद्वार चर्तुमान गुरुङ विजयी भएका थिए । क्यान्सर रोगका कारण उनको निधन भएको हो । भरतपुर–१६ नेकपा अध्यक्ष दाहालले चुनाव जितेको चितवन–३ अन्तर्गत पनि पर्दछ ।

प्रकाशित मिति : ९ मंसिर २०७६ सोमबार ००:००  ६ : ०७ बजे