काठमाडौं ।
उपप्रधान, कानुन तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवले मन्त्रालय पुगेर कार्यभार सम्हालेका छन्। यादव सोमबार दिउँसो सिंहदरबारस्थित मन्त्रालय पुगेका हुन्। उनलाई कर्मचारीले स्वागत गरेका थिए। यादवले मन्त्रिमण्डल पुनर्गठन गर्ने अधिकार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भएको प्रतिक्रिया दिएका छन्। कानुन मन्त्रालयको जिम्मेवारीले आफूलाई थप अनुभवी बनाउने उनले बताए। ‘प्रधानमन्त्रीले सबैतिर अनुभव होस् भनेर मलाई स्वास्थ्यबाट कानुन मन्त्रालय पठाउनुभएको हुनुपर्छ,’ यादवले पत्रकारहरूसँग मन्त्रालयमा भने, ‘सरकार छाड्ने निर्णयमा पार्टी पुगेको छैन। अहिले किन छाड्ने सरकार’ यादवले संविधान संशोधन राजनीतिक कुरा भएको बताए। ‘अब संविधान संशोधन गर्ने बेला भएको छ,’ उनले भने, ‘प्रधानमन्त्रीले अली बढी नै माया गरेर हुनुपर्छ कानुन मन्त्रालय पठाउनुभयो।’ मन्त्रालय हेरफेर गर्ने अधिकार पनि प्रधानमन्त्रीलाई भएकोले मन्त्रीसँग खासै परामर्श गरिराख्नु नपर्ने उनले बताए। मन्त्री यादव निजी गाडी चढेर मन्त्रालय पुगेका थिए। प्रधानमन्त्रीले मन्त्रिमण्डल पुनर्गठन गर्दै यादवलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जिम्मेवारी हेरफेर गरी कानुन मन्त्रालय पुर्याएका थिए। मन्त्रिमण्डल पुनर्गठन गर्दा यादव भारतमा थिए। आफूहरूसँग परामर्श नगरी प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठन गरेको भन्दै समाजवादी पार्टीभित्र सरकार छाड्न दवाव थियो। तर पदाधिकारी बैठकले सरकार छाड्ने निर्णय गरेको थिएन। संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईको नेतृत्वमा असहमत भएका बुँदाबारे सरकार र सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपासँग छलफल गर्न समाजवादीले वार्ता समिति नै बनाएको छ।
प्रतिक्रिया