११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

धुलिखेलबाट साढे ९ लाखसहित २३ जना जुवाडे पक्राउ



काभ्रेपलाञ्चोक ।
जिल्ला प्रहरी कार्यालय धुलिखेलले धुलिखेल नगरपालिका ९ रानाछापका महेश रानाभाटको घरबाट गएराति साढे नौ लाख रुपैयाँसहित २३ जुवाडेलाई पक्राउ गरेको छ ।
पसल व्यवसाय गर्ने रानाभाटको घरमा जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा आइतबार राति एक बजे काभ्रेपलाञ्चोक प्रहरी प्रमुख प्रहरी उपरीक्षक जयराज सापकोटा नेतृत्वको सुरक्षाकर्मी टोलीले ९ लाख ५७ हजार ८७० नगद तथा एक सेट कौडासहित जुवा खेलिरहेका २३ जनालाई पक्राउ गरेको हो ।
पक्राउ परेकाको आइतबार राति नै मेडिकल जाँच गरी प्रहरी हिरासतमा राखिएको प्रहरी नायब उपरीक्षक गिरीले बताए । उनका अनुसार उनीहरुलाई सोमबार म्याद थप गरी थप अनुसन्धान गरिनेछ । अनुसन्धानपश्चात पक्राउ परेकालाई जुवा ऐनअन्तर्गत मुद्दा चलाई कारबाही थालिन जनाइएको छ ।
यसअघि काभ्रेपलाञ्चोक प्रहरीले गत साउनमा बनेपा नपा ८ खसीबजारस्थित चतुरमान तामाङको डेराबाट सात जुवाडेलाई नियन्त्रणमा लिइ एक लाख २३ हजार बरामद गरेको थियो भने सोही दिन बनेपा नपा(६ रामन्दिर नजिकको दमाईसिं वाइवाको घरमा तास खेलिरहेका छ जनालाई पक्राउ गरी उनीहरुबाट एक लाख ४७ हजार बरामद गरेको थियो । रासस

प्रकाशित मिति : ९ मंसिर २०७६ सोमबार ००:००  १ : ४३ बजे