११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

कपिलवस्तुका ‘मेयर र हाकिम’का गाडी चालकका ‘एक भारी’ गुनासाका पोका !



मायादेवी अनलाइन, वाणगंगा ।
संघीयता आयो । तीन÷तीन सरकार बने । गाउँ गाउँमा सिंहदबार छिर्यो । सर्वसाधारणले भोट दिए । जिताएर जनप्रतिनिधि पनि बनाए । तर, निम्नस्तरका मजदुरका बेदना र पीडा उस्तै छन् । शासन व्यवस्था फेरिएको अनुभूति यो बर्गले गर्न पाएको छैन् । यस्तै मध्येका एक छन्, सरकारी गाडी चालक ।
दिनरात जनप्रतिनिधि र हामिकलाई गाडीमा गन्तव्यसम्म लैजाने चालकहरुलाई कस्तो महसुस हुँदो हो ? ठूला ठूला व्यक्तिसंग दिनरात संगसंगै सहयात्रा गर्ने यस्तो अवसर कमैले पाउँछन् । यस्ता अवसर पाउने चालकहरु मात्र हुन् । अरु नागरिकले जे सोचेका छन्, त्यो भन्दा विलकुल फरक छ ।
कपिलवस्तुका सरकारी गाडी चालकहरुका गुनासाका पोका ‘एक भारी’ छन् । करार सेवामा कार्यरत सरकारी गाडी चालकको तलव २२ हजार छ । त्यसमा सम्बन्धित कार्यालयले बर्षदिनको मात्र नियुक्तपत्र दिन्छ । नियुक्तिपत्रमा काम गर्ने स्पष्ट प्रावधान हुन्छ । तर, जनप्रतिनिधि र सरकारी हाकिमलाई आवात–आवात गराउने समयको कुनै टुंगो हुन्न । चालकहरुका अनुसार दिनरात गाडी हाक्नुपर्ने बाध्यता छ । अतिरिक्त समय गरेवापत सरकारी कर्मचारीले थप सेवा सुविधा पाउँछन । जनप्रतिनिधि आफ्नै कार्यकर्ता भेटघाटको स्वार्थमा कुद्छन् । हामी के का लागि जतिबेला पनि कुद्ने एक सरकारी हामिकको गाडी चलाउने चालकले गुनासो गरे ।
मायादेवीसंग भेट भएका चालकहरुले आफ्ना समस्या सम्बन्धित ठाउँमा पुर्याईदिन आग्रह गरेका छन् । नाम नबताउने शर्तमा चालकहरुले आफ्ना समस्या खुलस्त राखेका हुन् । सरकारी गाडी चलाउन लागे देखि कुनै दिन विदामा बस्न नपाएको एक चालकले गुनासो गरे । दशै, तिहारजस्ता पर्वमा पनि छुट्टि पाईदैन, अतिरिक्त काम गरेवापतको सुविधा पनि छैन्, गत बर्षहरुमा महिनाको दुई हजार महंगी भत्ता पाईन्थ्यो अहिले त्यो पनि छैन्, ‘एक चालकले मायादेवीसंग गुनासो राखे ।’
विहान ५ उठेदेखि राती १२ बजेसम्म गाडीमा आवातजावत गराउने काम हुने गरेको चालकको गुनासो छ । दिनभरी काम, रातमा व्यक्तिगत खानपिनमा पनि आफुले लैजानुपर्ने चालकको गुनासो छ । यतिमात्र होइन् विदाको दिन हाकिम र जनप्रतिनिधिका घरका परिवार बोक्ने काम पनि आफुहरुले गर्नुपर्ने उनीहरुले गुनासो राखेका छन् । अतिरिक्त समयको पारिश्रमिक माग गर्दा ‘जागिर छाड’ भन्नेजस्ता धम्की आउने गरेको चालकहरुले गुनासो गरे । रातदिन गाडी चलाउनुपर्ने हुँदा घरका सदस्यलाई समय पनि दिन नसकिएको चालकहरुको गुनासो छ ।

प्रकाशित मिति : ८ मंसिर २०७६ आइतबार ००:००  ८ : ३५ बजे