११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

कपिलवस्तुका ‘सिडियो’ नै गर्छन सरकारी गाडीको दुरुपयोग !



मायादेवी अनलाइन, तौलिहवा ।
सरकारी गाडीको दुरुपयोग हुने प्रसंग त्यति नयाँ होइन्, पुरानै हो । ज–जसले सरकारी गाडी प्रयोग गर्छन प्राय उनीहरुले दुरुपयोग नै गर्छन् । सही सलामत सरकारी गाडी चलाउने कमै भेटिन्छन् । राज्यले अफिसरका लागि सरकारी गाडीको सुविधा प्रदान गरेको छ । कामकाजमा सहजताका लागि गाडीको सुविधा दिइएको हो । तर, अधिकांशले यसको दुरुपयोग गर्दै आएका छन् । दुरुपयोग त गर्छन नै तर अधिकांशले लुकिछिपी !
प्रसंग कपिलवस्तुको छ । गाडीको दुरुपयोग यहाँ लुकिछिपी भएन छर्लङ्गै भयो । प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठ चढ्दै आएको गाडी दुरुपयोग हुने गरेको पाइएको छ । आइतबार उनको गाडी आफ्ना परिवार लिएर बजार घुम्यो । बजारमा घरासयी सरसामान किन्नका लागि उनको गाडी बजार घुमाइएको हो । विशेष स्रोतका अनुसार उनका परिवारले व्यक्तिगत प्रयोजनमा चाहिने सामान किन्न गाडीको प्रयोग गरेका थिए । उनका परिवार र सहयोगीले बजारमा पुगेर विभिन्न सरसामान किनेका थिए । स्रोतले गरेको दाबी अनुसार उनको गाडी सरसामान किन्न मर्यादपुर बढनीसम्म पुगेको थियो ।
आइतबार प्रजिअ व्यस्त थिए । विहान कार्यालयमा हाजिर भएपछि उनी तथ्याङ्क कार्यालय कपिलवस्तुले जिसस सभाहलमा राखेको एक कायर्क्रममा सहभागी भए । उनी दिनभर प्रशासनमै व्यस्त थिए । उनले आइतबार विभिन्न बैठक बोलाएका थिए । प्रजिअ बैठकमा व्यस्त हुँदा कार्यालयको काम प्रभावित थियो । सेवाग्राहीहरु लाम लागेर प्रजिअको प्रखाईमा बसेका थिए । कार्यालयमा झण्डै चार महिना देखि सहायक प्रमुख जिल्ला अधिकारी छैनन् । सहायक प्रजिअ नहुँदा प्रजिअलाई स्वभाविक रुपमा काम बढी नै छ ।
लामबद्ध सेवाग्राहीको बीचमा प्रजिअ चढ्दै आएको गाडी प्रशासन भित्र प्रवेश गर्यो । कतिपय सेवाग्राही प्रजिअ आए भन्दै गाडी भएनिर पुगे । ती सेवाग्राहीलाई थाहा थिएन प्रजिअ आफ्नो कार्यकक्षमा व्यस्त छन् भन्ने । तर, प्रजिअ सवार गाडीबाट उनी नभई एक जना महिला ओर्लिइन् । उनी प्रजिअकी श्रीमती थिइन् । उनीमात्र होइन्, लगातार तीन÷चारजना झोलाका-झोला सामान लिएर गाडीबाट ओर्लिए । लगत्तै उनीहरु प्रजिअ बस्ने भान्सा कोठातिर छिरे ।
सेवाग्राहीको चापकै बीचबाट उनका परिवार र सहयोगीले घरायसी सामान ओसारेको देखेपछि एक जना सेवाग्राहीले सिडियोको गाडीले कार्यालय समयमा घरायसी सामान यसरी बोक्नु राम्रो कुरा नभएको गाइँगुई सुनियो । सबैले देख्नेगरी दिनदहाडै घरायसी सामान गाडीले बोक्न थालेपछि अरुले के सोच्लान भन्नेपनि सिडियोलाई हेक्का नहुनु लज्जास्पद विषय भएको एक जना व्यक्तिले नाम नबताउने शर्तमा मायादेवीलाई भने । अरुले सरकारी गाडी दुरुपयोग गर्दा कारबाही गर्ने व्यक्ति सिडियो हो उनले थपे, “अब आफै भन्नुस यिनीलाई कारबाही कस्ले गर्ने ।”
कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठ जिल्लाका उच्च तहका सरकारी कर्मचारी हुन् । श्रेष्ठ राज्यका कानुनका पालक हुन् भने जसले गल्ति, कमजोरी गर्छ उसलाई सच्चाउने, सुधार्ने र कानुननुसार कारबाही गर्ने अख्तियारी प्राप्त व्यक्ति हुन् । सबैका नजरमा श्रेष्ठ पर्छन् । श्रेष्ठले गर्ने क्रियाकलापमा सबैको नजर पर्छ । विशिष्ट व्यक्तिप्रति सबैको नजर पर्नु स्वभाविक हो । आइतबार यस्तै भयो ।

प्रकाशित मिति : ८ मंसिर २०७६ आइतबार ००:००  ५ : ३० बजे