मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुमा संचालन हुन लागेको ११ औँ कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनीमा कृषि र पर्यटनलाई जोड दिनुपर्नेमा स्थानीयले सुझाव दिएका छन् । आयोजक बाणगंगा स्पोर्टस क्लव एण्ड वेल फेयर सोसाइटीले शनिबार सचिवालयमा आयोजना गरेको सर्वपक्षीय छलफलमा भाग लिँदै यस क्षेत्रका बिभिन्न संघसंस्थाका प्रमुखहरुले महोत्सवमा स्थानीय, कृषि, कला, संस्कृति, पर्यटनलाई जोड दिनुपर्नेमा सुझाव दिएका हुन् ।
बाणगंगा नगर पालिका वडा नं. ४ का वडाध्यक्ष गणेश क्षेत्री, कपिलवस्तु उद्योग संघका अध्यक्ष उमानाथ पौडेल, गजेहडा भूपू सैनिक खानेपानीका अध्यक्ष, राजेन्द्र वीक्रम शाह, नागरिक समाजका अध्यक्ष दोलख बहादुर पछाई, संचारकर्मी लगायतले बोल्दै मंसिर १९ गतेबाट पौष १ गतेसम्म हुने महोत्सवमा जिल्लाका कृषि उत्पादन र नयाँ कृषि प्रविधिमा महोत्सवक केन्द्रित हुनुपर्ने बताउनु भएको थियो ।
कार्यक्रममा सहभागी अन्यले पनि जिल्लाकै पहिचान बोकेको र जिल्लाकै जेठो महोत्सव भएको हुँदा सबैले सफल बनाउन लाग्नु पर्ने बताए । महोत्सव सफल गराउन के गर्नुपर्छ ? भन्ने उदेश्यले छलफल आयोजना गरेको आयोजक क्लवका अध्यक्ष एवम् मेला मुल आयोजक समितिका संयोजक राजकुमार खाँणले जानकारी दिनुभयो । उहाँले छलफलपछि आएका सुझावका आधारमा महोत्सवलाई थप व्यवस्थित बनाइने बताउनु भयो ।
यस्तै आयोजकले महोत्सवको ६५ प्रतिशत काम पुरा भएको जनाएका छन् । शनिबार भएको सर्वपक्षीय छलफलमा क्लवका महासचिव एवम् महोत्सवका निर्देशक दिनेश क्षेत्रीले आयोजक अहिलेसम्म ६५ प्रतिशत बढी काम भएको जानकारी गराउनु भएको हो ।
मेला स्थलमा भौतिक निर्माणका कामहरु धमाधम भइरहेको बताउँदै १७ गतेसम्म सबै तयारी सकिने बताउनु भयो । अहिलेसम्म प्रचारप्रसार, स्टल तथा निर्माण, स्टेजको काम सुरु भइसकेको र छिटै सचिवालय, मूल गेट आदिको पनि निर्माण सुरु सुरु हुने क्षेत्रीले बताउनु भयो । उहाँले महोत्सवमा करिब ३ सय स्टल रहन सक्ने स्टल पनि बुकिङ भइसकेको बताउनु भयो । महोत्सव यसपटक युवामैत्री हुने जनाइएको छ ।
यस्तै महोत्सवको आकर्षणको रुपमा रहेको नवौँ डान्स आइडलको अडिसन पनि सुरु भएको आयोजकले जनाएका छन् । शनिबारको अडिसनबाट दोश्रो चरणको लागि ४ जना छनोट भएका छन् । तिन चरणमा रहेको अडिसनबाट १५ जना छनोट भएर नवौँ डान्स आइडलको स्टेज चढ्ने आइडल संयोजक अमृत केसीले जानकारी दिनुभयो ।
अब आइतबार र सोमबार पनि अडिसन हुने छ । आइडलको विजेताले १ लाख ११ हजार १ सय ११, द्धितिय हुनेले ६६ हजार ६ सय ६६, तृतीय हुनेले ४४ हजार ४ सय ४४ र चौथो स्थान हासिल गर्नेले २२ हजार २ सय २२ रुपैयाँ सहित बिभिन्न उपहार हरु पनि पाउने डान्स आइडल संयोजक केसीले जानकारी दिनुभयो । यसपटक आइडलको प्रकृतिमा केही परिवर्तन गर्ने आयोजकको जनाऊ छ ।
महोत्सवमा यसपटक ‘उँट’ र ‘हेलिकप्टर’
महोत्सवमा अर्को आकर्षणको रुपमा यसपटक ‘उँट’ र ‘हेलिकप्टर ’ रहने आयोजकले तयारी गरेको छ । दर्शकले पहिलोपटक मेलामा उँट र हेलिकप्टर हेर्न पाउने आयोजकले सर्वपक्षीय छलफलमा बताएका छन् । महोत्सवका निर्देशक क्षेत्रीले भन्नुभयो-“उँट ल्याउने लगभग कन्फर्म भइसक्यो ।
नेपाल भ्रमण बर्ष चलिरहेकाले हेलिकप्टर ल्याएर जिल्लका मुख्य पर्यटकीय स्थलहरुमा हेलिकप्टर सफारी गराउने ब्यवस्था पनि गर्न लागेका छौँ । हेलिकप्टर ल्याउने अहिल्यै कन्फर्म छैन तर अन्तिमसम्म हाम्रो पुरा प्रयास हुने छ । सकेसम्म हेलिकप्टर पनि दर्शकले हेर्न पाउने छन् । हामीले तयारी गरिरहेका छौँ । ”
प्रतिक्रिया