रुपन्देही ।
प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालयले विभिन्न चेतनामूलक कार्यक्रम गरी लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मनाउने तयारी गरेको छ । लैङ्गिक हिंसाविरुद्ध १६ दिने वर्ष अभियानलाई प्रदेशका १२ वटै जिल्लामा पुर्याउने गरी तयारी गरिएको मन्त्रालयले जनाएको छ ।
अभियानलाई प्रभावकारी र रचनात्मक बनाउन सरोकारवालाहरुको सुझाव लिएर कार्यक्रम तय गरिएको सामाजिक विकासमन्त्री सुदर्शन बरालले बताउनुभयो। “लैङ्गिकताबारे बुझाइमा स्पष्टता ल्याउन रचनात्मक र प्रभावकारी कार्यक्रम गर्ने तयारी गरेका छौं”, उहाँले भन्नुभयो । मन्त्रालयले लैङ्गिकमैत्री बजेट र कार्यक्रम तय गरे पनि पर्याप्त कर्मचारी नहुँदा सबै जिल्लामा पुग्न भने कठिनाइ भएको मन्त्री बरालको भनाइ छ ।
मन्त्रालयले सरोकारवालाहरुको सहभागितामा चेतनामूलक कार्यक्रम गरेर लैङ्गिक हिंसाविरुद्ध १६ दिने वर्ष अभियान मनाउने सामाजिक विकास महाशाखा प्रमुख शारदा बस्यालले बताउनुभयो । लैङ्गिक हिंसा हुनै नदिने वातावरण तयार पार्न सबै सङ्घसंस्था र स्थानीय तहसँग मिलेर वर्षभरि सचेतना र सशक्तीकरणका कार्यक्रम सञ्चालन गरिने उहाँको भनाइ छ ।
मन्त्रालयले लैङ्गिक हिंसा निवारणका लागि सैनामैनामा ज्येष्ठ नागरिक र अपाङ्गता ग्राम निर्माणको प्रक्रिया अगाडि बढाएको छ । यस्तै बालश्रम र बालविवाहविरुद्धको प्रदेशस्तरीय सम्मेलन, किशोर–किशोरीमाथि हुने शारीरिक तथा यौनजन्य दुव्र्यवहारविरुद्ध सचेतनामूलक कार्यक्रम गर्ने मन्त्रालयको योजना छ ।
प्रदेशमा हिंसाका घटना बढ्दै गएकाले हिंसा प्रभावित क्षेत्रमा लैङ्गिक हिंसाविरुद्धका कार्यक्रमहरु केन्द्रित गर्नुपर्ने उपसभामुख कृष्णी चौधरीको भनाइ छ । “लैङ्गिक हिंसाविरुद्ध अभियान चलाउँदा घरेलु हिंसा बढी भएको स्थानलाई प्राथमिकतामा राखेर कार्यक्रम तय गर्नुपर्छ”, उहाँले भन्नुभयो ।
७ मंसिर २०७६ शनिबार ००:००
0
Shares
प्रतिक्रिया