मायादेवी अनलाइन, वाणगंगा ।
११ औँ कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी २०७६ को सबैभन्दा आकर्षणको रुपमा रहेका नवौँ कपिलवस्तु डान्स आइडलको अडिसन सुरु भएको छ । “युवा क्षमतामा अभिवृद्धि र पर्यटन र कृषिमा संंमृद्धि” भन्ने मूल नाराका साथ मंसिर १९ गतेदेखि पौष १ गतेसम्म संचालन हुने डान्स आइडलको पहिलो अडिसन शनिबारबाट सुरु भएको हो ।
महोत्सव हुने स्थान नजिक रहेको कपिलवस्तु उद्योग बाणिज्य संघको पुरानो भवनमा अडिसन सुरु भएको छ । पहिलो चरणको अडिसनमा जिल्लाका बिभिन्न स्थानबाट अडिसन दिन आएका छन् । प्रदेश ५ तथा स्थानीय क्षेत्रमा लुकेर रहेका नृत्य प्रतिभाहरुलई माथि उठाउन आइडल आयोजना गरिएको हो । तिन चरणमा रहेको अडिसनबाट १५ जना छनोट भएर नवौँ डान्स आइडलको स्टेज चढ्ने आइडल संयोजक अमृत केसीले जानकारी दिनुभयो ।
शनिबार, आइतबार र सोमबार गरी ३ दिन अडिसन हुने छ । तिन दिनसम्म हुने अडिसनमा बिभिन्न क्षेत्रबाट ३ सय बढीले भाग लिने अपेक्षा लिएको पनि उहाँले बताउनु भयो । आइडलको विजेताले १ लाख ११ हजार १ सय ११, द्धितिय हुनेले ६६ हजार ६ सय ६६, तृतीय हुनेले ४४ हजार ४ सय ४४ र चौथो स्थान हासिल गर्नेले २२ हजार २ सय २२ रुपैयाँ सहित बिभिन्न उपहार हरु पनि पाउने डान्स आइडल संयोजक केसीले जानकारी दिनुभयो ।
यसपटक आइडलको प्रकृतिमा केही परिवर्तन गर्ने आयोजकको जनाऊ छ । भोटिङका कारण धेरै विवाद आउने भएको हुँदा यसपटक डिजिटल भोटिङका बारेमा पनि सल्लाह भइरहेको महोत्सव संयोजक तथा आयोजक बाणगंगा स्पोर्टस एण्ड वेलफेयर सोसाइटीका अध्यक्ष राजकुमार खाँणले जानकारी दिनुभयो ।
प्रतिक्रिया