एजेन्सी ।
ओपनर डेविड वार्नरको उत्कृष्ट शतकसँगै पाकिस्तानसँगको पहिलो टेष्टमा अष्ट्रेलियाले ७२ रनको अग्रता लिएको छ । शुक्रबार दोस्रो दिनको खल सकिंदा अष्ट्रेलिया ८७ ओभरमा ३१२-१ को बलियो अवस्थामा छ ।ओपनर डेविड वार्नर २ सय ६५ बलमा १० चौका सहित १ सय ५१ रनमा अविजित छन् । वार्नरको यो टेष्ट करिअरको २२ औं शतक हो । त्यस्तै अर्का ओपनर जो बर्न्स ९७ रनमा आउट हुन पुगे । अनुभवी स्पिनर यासिर शाहले ६१ ओभरको पाँचौ बलमा बोल्ड आउट गरेपछि बर्न्स आफ्नो टेष्ट करिअरको पाँचौ शतक पूरा गर्नबाट ३ रनले चुकेका थिए ।
पहिलो विकेटका लागि डेविड वार्नर र जो बर्न्सले ६०.५ ओ ओभरमा २ सय २२ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । बर्न्सले १ सय ६६ बलमा १० चौका प्रहार गरे । मार्नस लाबुसेन ९४ बलमा ६ चौका सहित ५५ रनमा अविजित छन् । अष्ट्रेलियाका ब्याट्सम्यान सामु पाकिस्तानका बलर निरीह देखिएका छन् । यसै टेष्टबाट डेब्यू गरेका तीब्र गतिका १६ वर्षिय नसीम शाहले १६ ओभरमा ६५ रन खर्चिए ।
त्यसअघि बिहीबार पाकिस्तान पहिलो इनिङमा ८६.२ ओभरमा २ सय ४० रनमा अल आउट भएको थियो । पाकिस्तानका असाद शफीकले १ सय ३४ बलमा ७ चौका सहित सर्वाधिक ७६ रनको योगदान दिए । शफिकलाई प्याट कमिन्सले ८२ औं ओभरको चौथो बलमा बोल्ड आउट गरेका थिए । ओपनर शन मसुद २७, कप्तान अजहर अली ३९, हरिस सोहेल र बाबर आजम १–१ रनमा आउट भए ।
तल्लोक्रममा विकेटकीपर मोहमम्मद रिजवान ३७ र यासिर शाह २६ रनमा आउट भए । तीब्र गतिका मिचेल स्टार्कले ४ र प्याट कमिन्सले ३ विकेट लिए । जोश हेजलवुडले २ र नाथन लायनले १ विकेट लिएका थिए ।
प्रतिक्रिया