११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

प्रदेश नं. ५ः कृषि अनुदान दुरुपयोग गर्नेमाथि कारबाही गर्न निर्देशन



बुटवल ।

प्रदेश सभाको कृषि, वन तथा वातावरण समितिले अनुदान दुरुपयोग गर्नेमाथि कारबाही गर्न निर्देशन दिएको छ ।

प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयलाई समितिले आफ्नो अनुगमन प्रतिबेदन बुझाउँदै अनुदान दुरुपयोग गर्ने अनुदानग्राही र कमिसन माग्ने कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएको हो । कारबाहीका लागि समितिले अनुदानग्राही किसानसँग कमिसन माग्ने कर्मचारी र दुरुपयोग गर्ने किसानको नामसहितको प्रतिवेदन मन्त्रालयलाई बुझाएको सो प्रतिवेदन मुख्यमन्त्री कार्यालय, सभामुख र मन्त्रालयलाई बुझाइएको समितिका सभापति विजयबहादुर यादवले जानकारी दिनुभयो ।

मन्त्रालयका मत्स्य विकास अधिकृत दीपक भुसाल र पौडेल थरका ‘एकाउन्टेन्ट’ले कमिसन मागेको प्रतिवेदनमा उल्लेख छ । दाङका मासु व्यवसायी बलिराम खत्रीबाट मस्त्य विकास अधिकृत दीपक भुसालले एक लाख ५० हजार अनुदान माग गरेको किटानी प्रतिवेदन उल्लेख गरिएको छ ।

समितिले अनुदान दुरुपयोग गर्ने किसानबाट रकम फिर्ता गर्न र कमजोरी गर्ने कर्मचारीलाई कारबाही गर्ने मन्त्रालयलाई निर्देशन दिएको छ । समितिले १२ जिल्लाका करिब एक सय कृषि फर्मको अनुगमन गरेको थियो । तीमध्ये ८० प्रतिशत फर्ममा अनुदान रकम दुरुपयोग भएको प्रतिवेदन औंल्याइएको छ । मन्त्रालयले गतवर्ष पौने दुई अर्ब अनुदान बाँडेको थियो ।

सो रकम १२ सय किसानलाई वितरण गरिएको थियो । मन्त्रालयले समूहगत फर्मलाई लागतको ७५ प्रतिशत र व्यक्तिगत फर्ममा ५० प्रतिशतका दरले अनुदान दिने नीति लिए पनि अधिकांस किसानले आफूले लगानी गर्नुपर्ने रकम लगानी नगरेको र केहीले पुरानै फर्मलाई नयाँ भनेर अनुदान लिएको समितिको प्रतिबेदनमा उल्लेख छ । बाख्रा पालन, गाई पालन, तरकारी खेती, फलफूल खेती, बंगुर पालनमा दिइएको अनुदान दुरुपयोग भएको समितिले जनाएको छ । कामै नगरेका किसानलाई मन्त्रालयले सजिलै अनुदान दिएकाले मिलेमतोमा दुरुपयोग भएको निष्कर्ष समितिको छ ।

गैरकिसानले अनुदान पाउनुमा कर्मचारीको मिलेमतो देखिएकोले त्यसमा संलग्न कर्मचारीहरुलाई कारबाही गर्नुपर्ने समितिको निष्कर्ष छ । त्यसैगरी कृषि प्रविधिहरू सदुपयोग नभएको समितिले जनाएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७६ शुक्रबार ००:००  ५ : ३१ बजे