वीरगञ्ज ।
बारामा भएको छुट्टाछुट्टै सडक दुर्घटनामा आमा–छोरासहित तीनजनाको ज्यान गएको छ । बाराको अम्लेखगञ्जस्थित ४ नम्बर पुलनजिकै ट्रकले मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ८ बस्ने तीर्थकुमारी राई र उनका एक वर्षीय छोरा आहन चौधरीको मृत्यु भएको हो ।
जितपुर सिमरा उप महानगरपालिका २२ अम्लेखगञ्जमा हेटौँडाबाट पथलैयातर्फ आउँदै गरेको ना ४६ प २५०४ नम्बरको स्कुटरलाई सोही दिशाबाट आइरहेको ना ५ ख ९०५५ नम्बरको ट्रकले ठक्कर दिँदा आमा छोराको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रकको ठक्करबाट मृतक राईका श्रीमान् रोशन चौधरी घाइते भएका छन् । उनको हेटौडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको तथा फरार भएका चालकको खोजी कार्य भइरहेका इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।
यस्तै बिहीबार नै भएको अर्को सडक दुर्घटनामा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । वीरगञ्जबाट गौरतर्फ जाँदै गरेको बा४ख ५३२० नम्बरको बसले ना ११ प ५४७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक बारा निजगढका आईतसिंह लोप्चनको मृत्यु भएको हो ।
जीतपुर–सिमरा उपमहानगरपालिका वडा नम्बर १ स्थित पथलैयामा बसले लोप्चन सवार मोटरसाइकललाई ठककर दिँदा उनी गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका लोप्चनलाई उपचारको लागि वीरगञ्ज ल्याउदै गर्दा बाटोमा नै ज्यान गएको प्रहरीले जनाएको छ । ठक्कर दिने बसका चालक फरार रहेको तथा बसलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।
प्रतिक्रिया