अराज बेल्बासे, अर्घाखाँची ।
अर्घाखाँचीको सितगंगा नगरपालिकामा समयमै सडक मर्मत नहुँदा सर्वसाधारणले सास्ती खेप्न बाध्य भएका छन् । विगतका बर्षमा दशै अगावै सडक मर्मत हुँदै आएपनि यस बर्ष हुन सकेन । जिल्लाको भित्रि सडक मध्येको अमराई–जुकेना हुँदै जलुके लामाताल सडक मर्मत हुन नसकेको हो । यसले गर्दा यात्रुहरुलाई आवतजावतमा कठिनाई भएको छ ।
कच्चि सडक । त्यसमाथि ठूला ठूला खाल्डाखुल्डी । दुर्घटनाको जोखिम उस्तै । चालकहरु सवारी साधन यो सडकमा हाक्न धौ धौ मान्ने गरेका छन् । यो सडक सितगंगाको भित्रि सडक मध्येको व्यस्त सडक हो । झण्डै आधा दर्जन साविक गाविस जोड्ने यो सडक मर्मतमा नगरपालिकाले चासो नदेखाएको स्थानीयबासीको गुनासो छ ।
पश्चिम नेपाल बस ब्यवसायी समितिले समयमै सडक मर्मत नभए चालकहरुले बस गुडाउन नसक्ने जनाएको छ । यस विषयमा चालकहरुले पटक पटक गुनासा गर्दै आए पनि सम्बन्धित निकायले वास्ता नलिएको समितिका कर्मचारी नारायण बञ्जाडेले बताउनुभयो । चालकका गुनासा सुनिदिन सम्बन्धित निकायलाई उहाँले आग्रह गर्नुभयो ।
यो सडक मात्र होइन् । गच्चे–भालुवाङ सडक पनि गत चैत देखि बन्द छ । यो सडक सुचारु गर्नका लागि पनि कसैले चासो देखाएको छैन् । दैनिक दुई वटा जिप सञ्चालन हुँदै आएको यो सडकमा बर्खाको बेला झरेको पहिरो समयमा नपन्छाउदा सवारीसाधन सञ्चालनमा आउन सकेका छैनन् । घण्टैसम्म सर्वसाधारण यो सडक हुँदै पैदल हिड्न बाध्य छन् । विद्यालय टाढा भएकोले विद्यार्थीलाई सास्ती उस्तै छ ।
सडकमा गएको पहिरोले सितगंगा नगरपालिका ६ को अधिकारी गाउँ बिस्तापित हुने अबस्थामा छ । घरको आगनसम्म पहिरो गएको छ भने कतिको बारी, मलखाद बगाएको छ । जिल्लाको भुमिकास्थान नगरपालिका र सितगंगा नगरपालिका जोड्ने मुख्य सडक समेत रहेको उक्त सडकको आधा दर्जन बढी स्थानमा ठूला ठूला पहिरा गएका छन् । बाटोको निसानानै नदेखिने गरी पहिरो गएपनि पन्छाउनका लागि कसैले चासो नदिएको उद्योग बाणिज्य संघ सितगंगाका अध्यक्ष चिरञ्जिवी अधिकारीले बताउनुभयो ।
सितगंगा नगरपालिकाको वडा नम्बर ६ र भुमिकास्थान नगरपालिकाको धनचौर लगायतका स्थानको मुख्य ब्यापारी नाका अमराई भए पनि सडक अवरुद्ध हुँदा व्यापारी मर्कामा परेको स्थानीय व्यापारी लक्ष्मण पन्थीले बताउनुभयो ।
नगरपालिकाले आफ्नो नगरपालिका भित्रको सडक मर्मतको लागि अनुगमन गरिसकेको भन्दै अब तत्कालै सडक मर्मत हुने नगरपालिकाका प्राविधिक भरत बिकले बताउनुभयो ।
६ मंसिर २०७६ शुक्रबार ००:००
2
Shares
प्रतिक्रिया