११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

जिसस पाल्पाका प्रमुख बस्यालको निधन



पाल्पा ।
जिल्ला समन्वय समिति पाल्पाका प्रमुख दयाराज बस्यालको निधन भएको छ । उपचारका क्रममा काठमाण्डौं स्थित शिक्षण अस्पतालमा बिहिबार दिउँसो २ बजे बस्यालको निधन भएको ने.क.पा पाल्पाका नेता देबी प्रसाद बस्यालले जानकारी दिए ।

नेकपा प्रदेश ५ का प्रदेश कमिटिका सदस्य समेत रहेका ६७ बर्षिय बस्यालको बुधबार देखि शिक्षण अस्पतालमा उपचार भएको थियो । लामो समय देखि मधुमेय, दम, उच्च रक्तचापको समस्या भोगिरहेका बस्याललाई पछिल्लो समय पेट फुल्ने भएपछि तानसेनस्थित युनाईटेड मिशन अस्पतालमा उपचार गरिएको थियो ।
मिशन अस्पतालबाट थप उपचारका लागी उनका आफन्त र परिवारका सदस्यले काठमाण्डौ लगेका थिए । शिक्षण पेशा बाट अवकास लिएका प्रमुख बस्याल २०४६ सालको आन्दोलनमा पटक पटक जेल समेत परेको नेकपा पाल्पाले जनाएको छ ।
बगनासकाली ६ यम्घा थामडाँडामा जन्मिएका बस्यालले पाल्पाको कम्युनिष्ट पार्टीको संगठन बिस्तार, शिक्षक आन्दोलन, सामाजिक जागरणको अभियानमा सशक्त भूमिका खेलेका थिए । एमए विएड सम्मको अध्ययनरत बस्याल दर्लमडाँडा माध्यविक विद्यालयको प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिको अध्यक्ष, तानसेन चिलाङदी राम्दी सडकको अध्यक्ष भएर सामाजिक क्षेत्रको समेत अगुवाइ गरेका थिए ।
शिक्षक आन्दोलन र पार्टी राजनीतिमा लागेको भन्दै पञ्चायतले शिक्षण सेवाबाट बर्खास्त गरेपछि २०४३ सालमा जनपक्षिय उमेदवार बनेका थिए । जिल्ला पञ्चायतको जनपक्षीय उपसभापति, नेकपा एमाले पाल्पाको पार्टी प्रमुख, किसान संघको केन्द्रीय सदस्य भएर जनसेवामा संलग्न बस्याल इमान्दार र निष्ठावान नेताको छवि बनाएका थिए ।
बस्यालका श्रीमती, दुई छोरा र २ छोरी छन् । उनको पार्थिब शरिरलाई शुक्रबार बिहान ७ बजे देखि जिल्ला समन्वय समितिको प्राङ्गढमा राखिने र दिउसो राम्दीघाटमा अन्त्येष्टी गरिने नेकपा पाल्पाले जनाएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७६ शुक्रबार ००:००  ७ : ५० बजे