११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

साविक लुम्बिनीबाट केन्द्रिय सरकारमा त्रिपाठी र भुसालको ‘इन्ट्री’ !



मायादेवी अनलाइन, कपिलवस्तु ।
साविक लुम्बिनी अञ्चलबाट केन्द्रीय सरकारका रुपमा दुई जना मन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री केपि शर्मा ओलीले बुधबार साँझ गरेको मन्त्रीमण्डल हेरफेरमा रुपन्देही र नलवपरासीबाट नयाँ मन्त्री बनेका हुन् । जसमा रुपन्देहीका घनश्याम भुसाल र नवलपरासीका हृदयेश त्रिपाठी मन्त्री बन्नुभएको छ । भुसाललाई कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको जिम्मा दिइएको छ भने त्रिपाठीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले विहीबार ९ जना मन्त्रीलाई सपथ ग्रहण गराएसंगै साविक लुम्बिनीबाट दुई जना मन्त्रीलाई सपथग्रहण गराउनुभएको हो ।

कस्ले के भने ?

राष्ट्रपतिबाट पद तथा गोपनियताको शपथ लिए लगत्तै सिंहदरबार स्थित कार्यकक्षमा कार्यभार ग्रहण गर्दै नवनियुक्त कृषि तथा पशुपन्छी मन्त्री घनश्याम भुसालले आफू डर र प्रलोभनले प्रभावित नहुने बताउनुभएको छ ।
मन्त्री भुसालले आफ्नो काम कसैको डर या प्रलोभनले कुनै पनि अवस्थामा प्रभावित नहुने बताउनुभएको छ । देशको समग्र र सर्वपक्षीय विकासका लागि कृषि क्षेत्रको भूमिका महत्वपूर्ण हुने भएकाले आफ्ना लागि कृषि मन्त्रालयको जिम्मेवारी उपयुक्त रहेको पनि उहाले बताउनुभएको छ ।
भुसाल चक्रपाणि खनाललाई प्रतिस्थापित गर्दै कृषि मन्त्री बन्नुभएको हो । नेकपामा उहाँ बुद्धिजीवि नेताका रुपमा चिनिनुहुन्छ ।
यता पदभार ग्रहण गर्दै नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री ह्रृदयेश त्रिपाठीले कर्मचारी समायोजनमा देखिएका समस्या तत्काल समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
नवनियुक्तमन्त्री त्रिपाठीले कर्मचारी समायोजनका क्रममा देखिएको मनोवैज्ञानिक समस्यालाई समाधान गर्न आफू लागिपर्ने बताउनुभयो ।
स्थानीय तह, प्रदेश र संघीय सरकारबीचको समन्वयमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने पनि बताउनु भयो ।
मन्त्री त्रिपाठीले स्थानीय तहमा संस्थागत आर्थिक सुशासन कायम गराउन समेत जोड दिने बताउनु भयो । उहाँले महालेखापरीक्षकको कार्यालयले प्रकाशित गरेको प्रतिवेदनमा देखिएका समस्याको समाधानमा समेत जोड दिने पनि बताउनुभयो ।

प्रकाशित मिति : ५ मंसिर २०७६ बिहिबार ००:००  १० : ५३ बजे