११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

सरकार छाड्ने मनस्थितीमा समाजबादी पार्टी, मन्त्रालय हेरफेरमा उपेन्द्रको असन्तुष्टि



काठमाडौं ।
प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् पुर्नगठनमा आफूखुसी मन्त्रालय हेरफेर गरेको भन्दै समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले असन्तुष्टि व्यक्त गरेका छन् ।

ओली सरकारको उपप्रधान तथा स्वास्थ्यमन्त्री रहेका यादवलाई प्रधानमन्त्रीले कानुन मन्त्रालयको जिम्मेवारी दिएपछि असन्तुष्टि जनाएका हुन् । यता मन्त्रालय परिवर्तन हुँदा दिल्लीमा रहेका यादवले ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सरकार छोड्ने तयारी गरेका हुन् ।

स्वास्थ्यमन्त्री यादवलाई कानुनमन्त्री बनाएका ओलीले अर्का समाजवादी पार्टीका नेता सुरेन्द्र यादवलाई राज्यमन्त्रीको पदबाट मुक्त गरेका छन् भने अर्का नेता इस्तीयाक राईले सम्हालेको मन्त्रालयमा नेकपाका नेता रामवीर मनान्धरलाई राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

यसरी प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद पुर्नगठनमा यादवसहित उनको पार्टीलाई अपमानित गरेपछि समाजवादी पार्टीले सरकार छोड्ने तयारी गरेको हो । उपप्रधानमान्त्री यादव निकटका समाजवादी पार्टीका महासचिव रामसहाय यादवले अब सरकारमा बस्न नैतिक संकट भएको बताए । ‘सरकारमा बस्न हामीलाई नैतिक संकट भएको छ’, उनले भने, ‘अब सरकार छोड्नुको विकल्प छैन ।’

रामसहायका अनुसार अध्यक्ष यादव शुक्रवार साँझसम्म दिल्लीबाट काठमाडौं फर्किने कार्यक्रम रहेको छ । शनिबारसम्ममा सरकारबाट बाहिरिने निर्णय हुनेसक्ने उनको भनाइ छ । ‘अहिलेसम्म हामी सरसल्लाहमै छौँ’, यादवले भने, ‘उहाँ काठमाडौँ आइनपुग्दै पनि पनि पार्टीले सरकार छाडन सक्छ ।’

प्रकाशित मिति : ५ मंसिर २०७६ बिहिबार ००:००  १० : ३८ बजे