११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

‘बुद्धभूमिमा स्काउट तालिम’



मायादेवी अनलाइन, बुद्धभूमि ।
जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख नारायण खनालले स्थानीय सरकारले जनताका भावनालाई समेटर काम गर्नुपर्नेमा जोड दिनुभएको छ । स्थानीय सरकारमा उपलब्ध स्रोतसाधनको सही सदुपयोग गरेर जनताको भावना जित्ने गरी जनप्रतिनिधिले काम गर्नुपर्ने उहाँले बताउनुभयो ।
नेपाल स्काउट जिल्ला कार्यालय कपिलवस्तुको समन्वय र बुद्धभूमि नगरपालिकाको आयोजनामा बुद्धभूमि नगरपालिका वडा नं. १ टिक्करमा विहीबार आयोजित स्काउट तालिममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
कार्यक्रममा नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठ सहमती, सहकार्य र समन्वयबाट थुप्रै कामहरु गर्न सकिने बताउनुभएको छ । सबैको साथ र सहयोगले मात्र बुद्धभूमि राम्रो बन्ने भन्दै नगर प्रमुख श्रेष्ठले नगरपालिकासंग सहकार्य गर्न आग्रह गर्नुभयो ।
कार्यक्रमको अध्यक्षता गर्नुभएका नगर प्रमुख श्रेष्ठले नगरबासीलाई हरेक क्षेत्रमा अगाडी बढाउन नगरले विभिन्न रचनात्मक काम गर्दै आएको बताउनुभयो ।
नगरभित्र सञ्चालित सबै निजी र सामुदायिक विद्यालयका एक एक शिक्षकलाई स्काउट तालिम दिएको भन्दै उहाँले तालिमले पठनपाठन र अनुशासित विद्यार्थी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
तालिम समापन समारोहमा बोल्दै शिक्षा विकास तथा समन्वय ईकाई कपिलवस्तुका प्रमुख थानेश्वर घिमिरेले स्काउट तालिममा सिकेका कुरा आ आफ्ना विद्यालयमा गएर लागु गर्न शिक्षक शिक्षिकालाई आग्रह गर्नुभएको छ । स्काउटका मूल्य मान्यतालाई अनुसरण गर्न सके समाज अनुशासित बन्ने बताउँदै यो कुरा विद्यार्थीलाई अनिवार्य सिकाउनुपर्ने बताउनुभयो ।
बुद्धभूमि नगरपालिकाले नगरभित्रका सबै विद्यालयका एक एक शिक्षकलाई स्काउट तालिम प्रदान गरेको हो । तालिममा ७४ जना शिक्षक शिक्षिकाको उपस्थिती रहेको थियो । ६ दिनसम्म आवसीय रुपमा सञ्चालन भएको तालिममा नेपाल स्काउटका केन्द्रिय प्रशिक्षक सुरज खनाल, मविला खड्का, लिला श्रेष्ठ शुभराज शर्माले प्रशिक्षण दिनुभएको थियो ।
नगरपालिकाको शिक्षा शाखाको सहयोगमा भएको कार्यक्रममा नगरका शिक्षा शाखा प्रमुख लिल बहादुर राउतको स्वागत मन्तव्य र स्रोत व्यक्ति खेमराज शर्माको सञ्चालन रहेको थियो ।

प्रकाशित मिति : ५ मंसिर २०७६ बिहिबार ००:००  ७ : ३९ बजे