एजेन्सी ।
श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति गोटभाया राजापाक्षेले आफ्ना दाइ महिन्दा राजापाक्षेलाई प्रधानमन्त्री नियुक्त गरेका छन् ।
प्रधानमन्त्री रनिल विक्रमासिंघेले राजीनामा दिएसँगै बुधबार गोटभायाले ७४ वर्षीय दाइ महिन्दालाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । महिन्दा राजापाक्षेले बिहीबार ७० वर्षका भाइ गोटभायासँग पद तथा गोपनियताको सपथ लिने छन् । सपथ लिएको केहीबेरमा उनले मन्त्रीमण्डल विस्तार गर्ने श्रीलंकाली सञ्चारमाध्यमले जनाएका छन् ।
महिन्दा प्रधानमन्त्री बनेसँगै टापु राष्ट्र श्रीलंकाको सत्ताको साँचो ४ वर्षअघिजस्तै राजापाक्षे परिवारमा आएको छ । महिन्दा सन् २००५ देखि २०१५ सम्म श्रीलंकाका राष्ट्रपति थिए। गोटभायालाई उनले रक्षा मन्त्री बनाएका थिए। यी दुई दाजुभाइले सन् २००९मा २५ वर्ष लामो तमिल विद्रोह दबाएका थिए ।
त्यही बेला बनाएको ‘टर्मिनेटेर’ को छविले गोटभायाले गत शनिबार भएको राष्ट्रपतीय निर्वाचनमा प्रतिष्पर्धी उम्मेद्वार सतिस प्रेमदासालाई हराएका थिए । गोटभायाले सात महिनाअघि इस्टर दिन भएको आतंकवादी हमलाबाट त्रसित श्रीलंकालीलाई आफूले देशको रक्षा गर्ने वाचा गरेका थिए ।
श्रीलंकामा कसरी उदाए गोटभाया
टापु राष्ट्र श्रीलंकामा सरकार परिवर्तन भएको छ । गत शनिबार भएको राष्ट्रपतीय निर्वाचनमा ७० वर्षीय गोटभाया राजापाक्षे निर्वाचित भएसँगै हिन्द महासागरको बीचमा रहेको श्रीलंकामा सरकारमात्र परिवर्तन भएको छैन सत्ताको चाबी फेरि राजापाक्षे परिवारमा आएको छ ।
सत्ताको चाबी राजापाक्षे परिवारमा आएसँगै अब श्रीलंकाले भारत र चीनसँग कस्तो सम्बन्ध बनाउँछ भन्ने चासो बढेको छ । किनकी गोटभायाका दाजु महिन्दा राजापाक्षे सन् २००५ देखि २०१५ सम्म श्रीलंकामा शासन गर्दा चीनसँग नजिकिएका थिए । चीनसँग राजापाक्षेको ‘दोस्ती’ले छिमेकी भारत चिढिएको थियो ।
गोटभाया राष्ट्रपति चुनिनुमा भने बाह्य सम्बन्ध नभई आन्तरिक कारणको ठूलो भूमिका छ । त्यसमा पनि १० वर्षअघि तमिल विद्रोही समूह लिट्टेलाई पराजित गर्दा बनाएको गोटभायाको ‘टर्मिनेटर’को छविले उनलाई सर्वोच्च पदमा पुग्न सघाएको छ ।
सैनिक पृष्ठभूमिका गोटभायालाई २५ वर्ष लामो तमिल अल्पसंख्यकको विद्रोह समाप्त पारेको जस जान्छ। गोटभायाले सन् २००५ मा श्रीलंकाका रक्षा मन्त्रालय सम्हालेका थिए । उनी रक्षामन्त्री भएको चार वर्षपछि सन् २००९ मा लिट्टेका नेता भिल्लुपिल्लाई प्रभाकरण मारिएका थिए । अर्थात् नामजस्तै (गोटभायाको अर्थ भयंकर हुन्छ) उनी भयंकर सावित भए ।
श्रीलंकामा सिंहाली समूदायको बाहुल्य छ। सिंहाली समूदायमा गोटभायाको कडा स्वभाव र कुशल रणनीतिले तमिल विद्रोही सकिएको प्रभाव परेको थियो ।
सात महिनाअघि श्रीलंकामा २५९ जनाको ज्यान जाने गरी इस्टर आक्रमण भयो । तमिल विद्रोह सकिएपछि राजधानी कोलोम्बोमा भएको त्यो सबैभन्दा ठूलो आक्रमण थियो । राष्ट्रपति मैत्रीपाला सिरिसेना प्रशासनको गुप्तचरी, सुरक्षा रणनीतिको कमजोरीले आतंकवादी समूह आइएसले आक्रमण गर्न सकेको भन्दै आलोचना भयो ।
भारतीय र अन्य विदेशी जासुसी निकायले आक्रमण हुन सक्ने विस्तृत सूचना दिँदादिँदै पनि कट्टरपन्थी इस्लामिक आक्रमण रोक्न नसकेको भन्दै आमश्रीलंकाली आक्रोशित भएका थिए । राष्ट्रपति मैत्रीपाला सिरिसेनाले सुरक्षा निकायले सम्भावित आक्रमणको सूचना आफूसम्म नल्याएको र आक्रमण रोक्न प्रयास नगरेको भन्दै प्रहरी प्रमुखलाई हटाएका थिए भने रक्षा सचिवलाई राजीनामा दिन भनेका थिए ।
आमनागरिकमा सुरक्षा फेरि मुख्य मुद्दा बन्यो । इस्टर आक्रमणपछि बौद्ध धर्मालम्बीले आफ्नो सुरक्षाका लागि बलियो सरकार र नेता चाहिने ठाने । गोटभायाका लागि यो सुनौलो अवसर बन्यो । चुनावी प्रचारमा उनले आफ्नो छवि लिट्टेलाई निर्मुल पार्ने युद्ध नायकका रूपमा प्रस्तुत गरे ।
‘आतंककारीहरू ठाउँ ठाउँमा बम राखिदिन्छन् । हामीलाई पर्याप्त सुरक्षा छैन । हामीलाई आफ्नो मातृभूमिका लागि पिताजस्तो व्यक्तिको जरूरी छ,’ राजापाक्षेका एक समर्थकले बिबिसीसँग भने ।
दशकअघिको त्यही टर्मिनेटर छविले गोटभायाको पक्षमा लहर बन्यो । उनले चुनावी प्रचार यसरी गरे कि देशमा खतरा आयो भने त्यसलाई खत्तम पार्न उनीमात्र सक्षम छन् ।
गोटभायाको उदयमा पारिवारीक विरासतले पनि भूमिका खेल्यो । राजापाक्षे परिवार ब्रिट्रिस उपनिवेशकालदेखि नै श्रीलंकाको राजनीतिमा छ ।
गोटभायाका बुवा स्वतन्त्रता सेनानी थिए । पछि उनी श्रीलंकाका उपसभामुख र मन्त्री बने । गोटभायाका भाइबहिनीमध्ये दुई जना दाजु अहिले पनि सांसद छन् ।
‘टर्मिनेटर’ भनिने गोटभाया विवादरहित भने छैनन् । तमिल विद्रोहीलाई दबाउने क्रममा श्रीलंकामा गोटभायाको दुई छवि बनेका थिए । सिंहाली समूदाय उनलाई युद्ध नायक ठान्थ्यो भने तमिलका नजरमा उनी युद्ध अपराधी थिए, अहिले पनि छन् ।
‘मलाई लाग्दैन कि मेरो छोरो फर्केर आउँछ तर म दुनियाँलाई गोटभायाको अत्याचारबारे भन्न चाहन्छु,’ एक तमिल बाबुले बिबिसीसँग भनेका छन् ।
लिट्टे समाप्त पार्न मात्र होइन अमेरिका गएर उतैको नागरिकता लिएको र भ्रष्टाचार गरेको आरोप पनि गोटभायामाथि छ ।
सेनाबाट अवकास पाएपछि सन् १९८८ मा उनी अमेरिका गएका थिए । अमेरिका बस्दा उनले लसएन्जलसको लोयाला ल स्कुलको प्रशासनमा काम गरेका थिए । गोटभाया यी आरोपलाई अस्वीकार गर्छन् । अब राष्ट्रपति होउन्जेल उनीविरूद्ध कुनै मुद्दा दर्ता हुने छैन ।
गोटभायाको उदयसँगै श्रीलंका फेरि चीनसँग नजिकिएला तरु भन्ने प्रश्न पनि उब्जेको छ । महिन्दाको शासनकालमा चीनले श्रीलंकामा ठूलो लगानी गरेको थियो । हम्बानटोटा बन्दरगाह उनकै पालामा बनेको हो ।
पदभार ग्रहण समारोहमा बोल्दै गोटभायाले आफ्नो सरकारको विदेश सम्बन्ध तटस्थ रहने र विश्व शक्ति राष्ट्रबीच हुने शक्ति संघर्षबाट टाढै रहने बताएका छन् । इस्टर आक्रमणपछि १५ वर्षयताकै सबैभन्दा कम आर्थिक वृद्धिदरबाट गुज्रिरहेको श्रीलंकाली अर्थतन्त्रलाई उकास्न र अन्तर्राष्ट्रिय सञ्जाल भएका आइएसजस्ता आतंकवादी समूहबाट देशको सुरक्षा गर्न उनलाई छिमेकी (विशेष गरी भारत) र शक्ति राष्ट्रसँग बलियो र विश्वासनीय सम्बन्धको खाँचो हुन सक्छ ।
प्रतिक्रिया