११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

पूर्वराजा ज्ञानेन्द्रका स्वकिय सचिवद्धारा नन्दनगरको अवलोकन, ज्ञानेन्द्र छिटै कपिलवस्तु आउने



चन्द्रकान्त न्यौपाने, कपिलवस्तु ।
पूर्व राजा ज्ञानेन्द्र शाहका स्वकिय सचिव सागर तिमिल्सिनाले आज बाणगंगा २ नन्दनगरमा रहेको श्री कैलाश आश्रम गुरुकुलम्को अवलोकन गर्नुभएको छ । बुधबार कपिलवस्तुका बिभिन्न स्थानको अवलोकनको लागि आएका बेला जिल्लाकै प्रसिद्ध धार्मिक स्थलको रुपमा रहेको कैलाश आश्रमको तिमिल्सिनाले अवलोकन गर्नुभएको हो । निकै ब्यस्त समय तालिकामा आश्रममा आउनु भएका उहाँले त्यहाँ जम्मा १५ मिनेट समय विताउनु भयो । पूर्व राजा ज्ञानेन्द्र शाहले निकै लामोसमयदेखि लुम्बिनीको भ्रमण गर्ने इच्छा राखेको हुनाले प्रदेश ५ का बिभिन्न जिल्लाहरुको धार्मिक, पर्यटकीय, सामाजिक र सांस्कृतिक पक्षहरुको अवस्था बुझ्न कपिलवस्तु आएको तिमिल्सिनाले बताउनु भयो । मायादेवी अनलाइनसंग निकै संक्षिप्त भनाई राख्नु भएका उहाँले भन्नुभयो– “बुद्धभूमिमा श्री ५ महाराज जिले पाइला टेक्ने ठुलो इच्छा राख्नु भएको छ । छिटै उहाँले यहाँका जनतालाई भेट गर्नुहुने छ । मेरो अवलोकन भ्रमणपछि यहाँको अवस्थाबारे मैले महाराज जिलाई जानकारी गराउँछु । अनि महाराजको भ्रमण तय हुनेछ ।”
धार्मिक र सांस्कृतिक रुपमा नन्दनगर नेपालकै महत्वपूर्ण स्थल भएकाले पूर्व राजा ज्ञानेन्द्र शाहलाई ल्याउन आफूले हरदम प्रयास गर्ने उहाँको भनाई छ । उहाँको आगमनको अवसरमा गुरुकुलम्का संरक्षक रविराज ज्ञवालीले गुरुकुलम्को वर्तमान अवस्थाबारे जानकारी गराउनु भएको थियो । त्यसपछि छोटो भनाई राख्नु भएका तिमिल्सिनाले ज्ञानेन्द्र महाराज ज्यूले ज्यूले मुलुकमा शान्ति चाहानु भएको बताउनु भयो । “महारज जि नेपालको धर्म संस्कृति प्रति निकै चिन्तित हुनहुन्छ । उहाँको चाहाना प्रजाहरुको सवृद्धि र संस्कृतिको संरक्षण होओस् भन्ने छ । यसैको शिलशिलामा महाज अहिले देशभरका जनतालाई भेट्ने कार्यक्रममा हुनहुन्छ”, उहाँले भन्नुभयो ।
गुरुकुलम्को आतिथ्य र सत्कारबाट आफू प्रफुल्ल रहेको भन्दै तिमिल्सिनाले महाराज ज्ञानेन्द्र र हिमानी ट्रस्टबाट सहयोग गर्ने आश्वासन दिनुभयो । यति नै खेर उहाँ आउनु हुन्छ भन्न सक्दिन तर उहाँ अवश्य आउनु हुने भन्दै उहाँ गुरुकुलम्बाट पाल्पातिर प्रस्थान गर्नुभएको थियो । बुधबारको भ्रमणको क्रममा उहाँले कपिलवस्तुको तिलौराको, बहादुरगंज, गोरुसिंगे लगायतको भ्रमण गर्नुभएको थियो ।
उहाँको साथमा शिव सेना नेपालका केन्द्रिय अध्यक्ष अनिल बाबा बस्नेत लगायत हिमानी ट्रस्टका प्रतिनिधि पनि आएका थिए । छोटो भनाई राख्दै शिव सेनाका अध्यक्ष बस्नेतले राजाको नेतृत्वविना मुलुकमा शान्ति नहुने बताउनु भयो । उनीहरुलाई गुरुकुलम्का संचालक समिति सदस्यहरु, बटुकहरु, स्थानीय व्यक्तिहरु लगायतले पुष्प गुच्चाले स्वागत गरेका थिए । आश्रमले यही मंसिर १२ गतेबाट १८ गतेसम्म नन्दनगरमा व्रहम्म वैवर्त महामुराण राखेको छ । त्यसैको पूर्वसन्ध्यामा राजपरिवारका निकटस्थहरुले यहाँ भ्रमण गरेको आश्रमले जनाएको छ । सकेसम्म महायज्ञको उद्घाटन पूर्व राजा वा हिमानीबाट गराउने त्यो सम्भव नभए महायज्ञको बीचमा राजपरिवारका सदस्यको उपस्थिति गराउने आश्रमको तयारी छ ।

प्रकाशित मिति : ४ मंसिर २०७६ बुधबार ००:००  ९ : ०८ बजे