काठमाडौं ।
कृषि मन्त्री चक्रपाणि खनाल ’बलदेव’ ले उद्योग मन्त्री मातृका यादव र आफू मन्त्रिपरिषदबाट हट्न लागेको पुष्टि गरेका छन् ।
उनले पछिल्लो समय प्रधानमन्त्रीसँग कुराकानी कम भएको बताए । यादवसँगै मन्त्री खनाल पनि मंगलबार मन्त्रिपरिषद् बैठकमा सहभागी भने भएनन् । ’म भैरहवामा छु’, खनालले भने, ’निर्वाचन क्षेत्रको बजेटको टुंगो गर्नु थियो ।’
उनले मन्त्रीबाट हटाउने विषय प्रधानमन्त्रीको भएको बताए । ’मैले त पत्रकार सम्मेलन गरेरै म हटेको सूचना यतै पठाइदिए पनि हुन्छ भन्दिसकें’, खनालले भने, ’मन्त्रिपरिषद् विस्तार हुँदा पार्टी एकता भएको थिएन । त्यतिबेला पूर्वमाओवादीबाट मन्त्री भएका मातृका यादव र म हट्ने कन्फर्म हो ।’
उनले प्रधानमन्त्रीसँग कुरा नमिलेको बताए । ’कुरा मिलेको छैन । नमिलेपछि बस्ने कुरा भएन’, खनालले भने, ’बरु हाम्रो कारणले अरु मन्त्री बलिको बोको नबने हुने भन्ने लाग्छ ।’ उनले पार्टी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीसँग मन्त्रीबाट हट्न लागेको विषयमा कुनै कुराकानी नभएको बताए । –सेतोपातीबाट साभार
प्रतिक्रिया