११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

रमेश बिजीले गरे लोक दोहोरी प्रतिष्ठानको अध्यक्षमा उम्मेद्वारी घोषणा



कपिलवस्तु । 

मंसिर ६ देखि ८ गतेसम्म हुन गइरहेको लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको सातौं केन्द्रीय महाधिवेशनमा चर्चित गीतहरुका सर्जक रमेश बिजीले अध्यक्ष पदका लागि उमेदवारी दिनेभएका छन् । तीन दिनसम्म पोखरामा हुन गइरहेको महाधिबेशनमा वर्तमान प्रतिष्ठानका बरिष्ठ उपाध्यक्ष रहेका सर्जक बिजीले आफू अध्यक्षमा विजयी हुने निश्चित जस्तै भएको दाबी गरेका छन् ।

उनले भने ‘म प्रतिष्ठानको संस्थापक सह-सचिव हुँ । म लगाएतका सबै पदाधिकारीहरु अध्यक्ष भई सक्नु भएको छ । यसपाली स्वतः मेरो पालो भएकाले मैले अध्यक्ष पदको उम्मेद्वारी दिदै छु ।’ उनले थपे ‘स्थापना कालदेखि प्रतिष्ठानमा रहेर संस्थामा करोडौंको कोष स्थापना र भवन निर्माण गर्न हालसम्मका अध्यक्षहरुलाई सहयोग गरेको छु । यसर्थ पनि मलाई देशैभरका कलाकारहरुले साथ दिनुहुन्छ ।’

२०५५ सालतिर बुटवलबाट गायन र गीत सिर्जनाको यात्रा सुरु गरेका बिजीको स्थाई घर स्याङ्जाको पुतली बजार नगरपालिका–१४ लामागे हो । झण्डै २० बर्षदेखि निरन्तर लोक दोहरी क्षेत्रमै आफू समर्पित रहेको उनले बताए । उनीसहित अर्का बरिष्ठ गायक बिष्णु खत्रीले पनि अध्यक्ष पदको उम्मेद्वारी दिने चर्चा छ ।

प्रकाशित मिति : ४ मंसिर २०७६ बुधबार ००:००  ९ : ३० बजे