११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

नर्वेका विद्यार्थी भन्छन्, नेपालीको माया, संस्कार र उत्प्रेरणा लिएर जादैछौं



मायादेवी अनलाइन, वाणगंगा ।
नर्वेका विद्यार्थीले वाणगंगा नगरपालिका-११ मैनहरामा स्थानीय समुदायसंग भेटघाट गरेका छन् । नर्वेबाट आएका १८ सदस्यीय टोलीले मैनहराका थारु समुदायमा पुगेर संस्कृति तथा विचार आदान प्रदान गरेका हुन् । उनीहरुले थारु समुदायको रहनसहन, परम्परा र संस्कृतिबारे जानकारी लिदै नेपालीको जनजीवनबारे प्रत्यक्ष अनुभव हासिल गरेका छन् ।
स्थानीय समुदायले आफुलाई गरेको स्वागत र सत्कारले निकै खुशी भएको बताएका छन् । नेपालीको माया, सस्कार र उत्प्रेरणा आफुहरुको लागि धेरै नै वहुमूल्य भएको अनुभव सुनाएका छन् । भ्रमणमा आएका नर्वेजिएन विद्यार्थीको नेतृत्व गरेकी एक शिक्षक टेरेसाले नेपालीको माया, संस्कार र उत्प्रेरणा लिएर आफुहरु आफनो मुलुक फर्कने बताएकी छिन् । उनीहरुले थारु समुदायको भेषभुसा, पहिरन, परिकार, नृत्य मन पराएका छन् । स्थानीय समुदायले गरेको व्यवहार, स्वागत साथै परम्परागत सामाग्री, माछा मार्ने तरिका बारेमा जानकारी पाउदा आफुहरु धेरै उत्साहित भएको समेत विद्यार्थीले बताएका छन् ।
स्ट्रोम फाउण्डेशनको सहयोग तथा सिद्धार्थ सामाजिक विकास केन्द्र र वाणगंगा नगरपालिकाको सहकार्यमा संचालित सिड्स कार्यक्रम अन्तरगत उनीहरु भ्रमणमा आएका हुन् । कार्यक्रम अन्तरगत मैनहरमा संचालित सम्वाद कार्यक्रमका किशोरीहरुसंग छलफल गरेका छन् । किशोरीहरुले जीवनमा भोग्नु परेका समस्या, चुनौती तथा आफुले सिकेको ज्ञानका बारेमा जानकारी लिएका थिए ।
स्वागत समारोहका प्रमुख अतिथि वडा अध्यक्ष सोमनाथ अर्यालले कार्यक्रमले समुदायमा चाडै नै प्रभाव पारेको बताएका छन् । वडा अध्यक्ष अर्यालले वडा कार्यालय र समुदायको सहयोगले समुदायमा सकारात्मक परिवर्तन ल्याउन धेरै मद्दत पुगेको बताउदै कार्यक्रमलाई विस्तार गर्नुपर्ने बताए । विदेशीहरुको भ्रमणले समुदायमा थप उत्साह थपेको बताउदै एक अर्को देशबीच सम्बन्ध स्थापित गरेको वडा अध्यक्ष अर्यालले बताए ।
संवाद सहयोग समितिकी संयोजक लक्ष्मी चौधरीको अध्यक्षता तथा संवाद सहजकर्ता बृजेश चौधरीको संचालनमा भएको कार्यक्रममा सिद्धार्थ सामाजिक विकास केन्द्रका अध्यक्ष तेज प्रसाद आचार्य, सदस्य चेतना अधिकारी, स्ट्रोम फाउण्डेशनकी विजया गोदार, कार्यक्रम संयोजक आरटि खान, कार्यक्रम अधिकृत गिता अर्याल, टोल विकास समिति, विभिन्न संघ संस्था, समूहका प्रतिनिधीको सहभागीता रहेको थियो । समुदायले आफैले बनाएका हस्तकलाका सामाग्रीहरु विदेशी पाहुनालाई मायाको चिनोको रुपमा प्रदान गरेका थिए ।

प्रकाशित मिति : ३ मंसिर २०७६ मंगलबार ००:००  ९ : ५३ बजे