११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

नेपाल भ्रमण बर्ष २०२० को प्रचार-प्रसारमा तिलौराकोटको तस्बीर गुमनाम !



मायादेवी अनलाइन, वाणगंगा ।

नेपाल भ्रमण बर्ष २०२० को आक्रमक प्रचारमा सरकार लागेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई रातदिन नेपाल भ्रमणको निम्तो देश दुनियाँलाई बाडिरहनुभएको छ । विश्वका विभिन्न मूलुक रहेका नेपाली नागरिकले पनि आफ्नो देश नेपाल घुम्न जानका लागि विभिन्न माध्यमको प्रयोगगरी प्रचार गरिरहेका छन् ।

नेपाल भ्रमण बर्षका लागि भए गरेका यी प्रयासहरु देशका लागि राम्रै हुन् । तर, नेपाल भ्रमण बर्षको प्रचार गरिरहदा बुद्धले २९ बर्ष विताएको तिलौराकोट भने गुमनाम जस्तै बनेको छ । कपिलवस्तुस्थित तिलौराकोट भगवान गौतम बुद्धका पिता राजा शुद्धोधनको राजदरबार पनि हो । यो ठाउँमा बुद्धले आफ्नो २९ बर्षे जीवनकाल विताएका थिए । यो स्थल विश्वका बौद्धमार्गीहरुको लागि पवित्र भूमि हो । यति पवित्र भूमि विगतबाटै पछाडि पर्दै आएको त छ नै नेपाल भ्रमण बर्ष २०२० बाट पनि उपेक्षित हुनुलाई कपिलवस्तुबासीले चिन्ता व्यक्त गरेका छन् ।

सरकारले भ्रमण बर्षको प्रचारप्रसार गर्दै आएको पम्पसेट, ब्रोसरमा तिलौराकोटको कुनै फोटो देखिदैन् । नेपाल भ्रमण २०२० को आधिकारीक फेसबुक पेजमा मूलुकका लगभग ५ सय स्थलको फोटो देखिन्छ तर कपिलवस्तुको तिलौराकोट कतै देखिन्न । यो फेसबुक पर्यटन मन्त्रालयको आधिकारिक फेसबुकको नामबाट छ ।

राज्यबाट पछाडि पर्दैै आएको तिलौराकोटलाई यस बर्ष पनि राज्यले पछाडि पारेको दुखेसो जिल्लाबासीको छ । झण्डै आधा दर्जन बुद्धस्थलको संरक्षणका लागि गठन गरिएको लुम्बिनी विकास कोषमा कपिलवस्तुका ४ ओटा पुरातात्विक स्थल पर्दछन् । तर, कोषको ध्यान लुम्बिनीमा मात्रै रहेको आरोप लाग्दै आएको छ ।

तिलौराकोटलाई शासकहरुबाटै पछाडि पारिदै आएको आरोप पूर्वमन्त्री समेत भैसक्नु भएका प्रतिनिधिसभा सदस्य बृजेश कुमार गुप्ताको छ । रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जको कार्यक्रम जनप्रतिनिधिमा बोल्दै प्रतिनिधिसभा सदस्य गुप्ताले पटक पटक राज्यबाट पछाडि पर्दै आएको तिलौराकोटलाई नेपाल भ्रमण बर्ष २०२० मा पनि पछाडि पार्ने खेल भएको बताउनुभयो । “नेपाल भ्रमण बर्षको प्रचार प्रसार भैरहदा मैले तिलौराकोटको फोटो कतै देखेको छैन्, पटक पटक फोटो राख्नु भनेर मन्त्रालयमा पुगेर भनेको छु, गुप्ताले भन्नुभयो, तर म बोलेको सुन्ने कोही भएन् ।”

दिवंगत भैसक्नुभएका पूर्व पर्यटनमन्त्री रविन्द्र अधिकारीलाई पनि यस बिषयमा ध्यानाकर्षण गराएको बताउनुभयो । साथै मन्त्रालयका सचिवसम्मलाई यो कुरा भनेको उहाँले बताउनुभयो । यद्यपि हालका पर्यटनमन्त्री भट्टराईलाई यो कुरा भन्न नभ्याएको र अब तत्कालै भन्ने उहाँको भनाई थियो ।

तिलौराकोटको विकास किन भएन भन्ने बहसमा उहाँले यो कुराको खुलासा गर्नुभएको हो । तिलौराकोट विकास नभएको कुरा जगजायरै छ । म धेरै पटक यो कुरा संसदमा उठाएको छु । कसैले सुन्न चाहदैन्, मन्त्री गुप्ताले गुनासो राख्नुभयो । नेपाल भ्रमण बर्षमा समेत तिलौराकोटको प्रचार छैन् अब भन्नुहोस राज्य तिलौराकोटप्रति कति सकारात्मक होला ।

कपिलवस्तुका बुद्धस्थललाई अहिले मात्र होइन पटक पटक पछाडि पार्ने काम भैरहेको जिल्लाका अधिकांश नेताको विलौना छ । तिलौराकोटको विकास प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धजयन्तीको पूर्वसन्ध्यामा अवलोकन गर्दै अभूतपूर्ण तरिकाले हुने बताउनुभएको थियो ।

तिलौराकोट देशकै महत्वपूर्ण ऐतिहासिकस्थल हो यसको विकास अवश्य हुन्छ उहाँले यति मात्र भन्नुभएको थियो । लामो भाषणमा दब्बल राख्ने प्रधानमन्त्री ओलीको यो छोटो बोली निकै गम्भिर होला भन्ने जिल्लाबासीले ठानेका थिए । तर, नेपाल भ्रमण बर्ष २०२० को प्रचारमा समेत तिलौराकोट नपर्नुलाई जिल्लाबासीले उहि पुरानै हेपाह प्रवृद्धि भएको ठानेका छन् ।

प्रकाशित मिति : ३ मंसिर २०७६ मंगलबार ००:००  ७ : १३ बजे