चन्द्रकान्त न्यौपाने, कपिलवस्तु ।
आठौँ कर सप्ताहालाई भव्य रुपमा सफल बनाउन बाणगंगा नगरपालिकाका जनप्रतिनिधि, आन्तरिक राजस्व कार्यालय कृष्णनगर र कपिलवस्तु उद्योग बाणिज्य संघ एकजुट भएका छन् । कर सप्ताहाको अवसरमा सोमबार बाणगंगामा एक कार्यक्रमको आयोजना गरी ब्यवसायीलाई करको दायरामा ल्याउने विषयमा आफूहरु एकजुट भएको सन्देश उनीहरुले दिएका छन् ।
नगरपालिकाको आयोजना र उद्योग बाणिज्य संघको सह आयोजनामा जितपुरमा भएको कार्यक्रममा नगर प्रमुख मंगल प्रसाद थारुले कर तिर्न स्वयम् ब्यावसायी अग्रसर हुँदा नगरपालिकाको गरिमा उँचो भएको बताउनु भयो । उहाँले निजि क्षेत्र विना नगरको विकास सम्भव नहुने भन्दै ब्यावसायीलाई दुख दिने नियत कसैले पाल्न नहुने बताउनु भयो । हरेक ब्यावसायी करको दायरामा आउँदा स्वयम उनीहरुकै इज्जत बढ्ने हुँदा कर तिर्न कसैले पनि आनाकानी गर्न नहुने उहाँको भनाई छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले कर सप्ताहा मनाउनुको औचित्यमाथि प्रकाश पार्नु भएको थियो । ब्यवसायी र सर्वसाधारणले तिरेको करले राज्यको ढुकुटी बलियो हुने भएकाले सबैको सहकार्यले मात्र मुलुक बन्ने उहाँको भनाई छ । उहाँले कर तिर्नुको औचित्य, यसका फाइदा र महत्वको विषयमा पनि एउटा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै आन्तरिक राजस्व कार्यालय कृष्णनगरका प्रमुख पूर्ण चन्द्र न्यौपानेले ब्यवसायीलाई दुख दिने नियत राज्यको नभएको बताउनु भयो । ब्यवसायीले नियत सही राखेर आफ्ना हिसाब किताब चुस्तदुरुस्त राख्न सके कुनै समस्या नहुने उहाको भनाई छ । जनप्रतिनिधि, ब्यवसायी र आफूहरु एकै स्थानमा भेला भएर कर सप्ताहा मनाउनु मुलुककै पहिलो कदम भएकाले उहाँले उद्योग बाणिज्य संघ कपिलवस्तु र बाणगंगा नगरलार्ई विशेष धन्यबाद दिनुभयो ।
राज्यको उच्च तहबाट हुन नसकेको काम बाणगंगाका जनप्रतिनिधि र ब्यवसायीले गरेकोले यो मुलुककै लागि पहिलो नमुना अभ्यास भएको भन्दै उहाँले भन्नुभयो– “मैले जाने बुझेसम्म कर सप्ताहा मनाउन यसरी एकै स्थानमा कोही पनि भेला भएका छैनन् । सम्भवतहः यो नै नेपालमा पहिलो अभ्यास हो ।”व्यवसायीहरु कर तिर्न मान्दैनन् भन्ने आरोपलाई बाणगंगा नगरपालिकाका ब्यावसायीले उल्टाइदिएको बताउँदै उहाँले यो सन्देश मुलुकभर जानु पर्ने बताउनु भयो ।
कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष उमानाथ पौडेलले राज्यले ब्यावसायीलाई दोश्रो दर्जाको नागरिकको रुपमा हेर्न नहुने बताउनु भयो । ब्यापारी र ब्यवसायीले जति कर तिर्दा पनि राज्यले हेर्ने दृष्टिकोण हेपाहा रहेको कारण अब सच्चिनुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो–हामी कुनै पनि ब्यापार ब्यवसाय संचालन गरे बापत सबै कर तिर्न तयार छौँ । सरकारले हामीलाई सही तरिकाले हेर्नु पर्यो । सुविधा पनि दिनुपर्यो । कतिपय स्थानमा कर नतिर्ने र दर्ताविना संचालन भएका ब्यवसाय फस्टाउने तर वैधानिक ब्यवसायहरु टाँट पल्टनु पर्ने समस्या छ, उहाँले भन्नुभयो ।
नगरपालिकाको राजस्व परामर्श समितिका अध्यक्ष नगर उपप्रमुख चक्र अर्यालको अध्यक्षता र सामाजिक विकास शाखाका प्रमुख खिम बहादुर जिसीको स्वागत, राजस्व अधिकृत केशव भट्टराईको संचालनमा सम्पन्न कार्यक्रममा वडा नम्बर ८ का वडाध्यक्ष गुणनिधि भूषाल, नागरिक समाजका अध्यक्ष दोलख बहादुर पछाई, उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष यज्ञ भट्टराई, सल्लाहाकार टोप नारायण बेलबासे लगायतले बोल्नु भएको थियो ।
यसैबीच नगरका सम्पूर्ण ब्यावसायीलाई करको दायरामा लयाउनको लागि हिजोबाट कर संकलन शिविर पनि सुरु भएको छ । हिजो वडा नम्बर १ बाट सुरु भएको शिविर आज वडा नम्बर २ मा भएको छ । कर सप्ताहा अवधिभर सबै वडाहरुमा यो शिविर संचालन गरिने भएकाले अधिकतम लाभ उठाउन आग्रह गरिएको छ । कर सप्ताहा मनाउने बिषयमा बाणगंगामा भएको नयाँ अभ्यासलाइ सबैले अनुकरणीय भनेका छन् ।
कार्यक्रम पूर्व करका बिषयमा जनचेतना जगाउन विशाल र्याली भएको थियो । कर तिरौँ, सभ्य नागरिकको परिचय देऊँ, कर कहरले होइन रहरले तिरौँ, भन्ने नाराहरु लेखिएका रातासेता टोपी, प्लेकार्ड र ब्यानरमासहित निस्किएको र्यालीले जितपुर परिक्रमा गरी उद्योग बाणिज्य संघको कार्यलयमा पुगी सभामा परिणत भएको थियो । र्यालीमा जनप्रतिनिधि, सरकारका कर्मचारी, ब्यावसायी, संचारकर्मी र सर्वसाधारण गरी सयौँको सहभागिता रहेको थियो ।
प्रतिक्रिया