१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

उद्योगी व्यवसायीले नियमित कर तिरौः अधिकृत न्यौपाने



हरि अधिकारी, कपिलवस्तु ।
आन्तरिक राजश्व कार्यालय कृष्णनगरका प्रमुख कर अधिकृत पुर्ण प्रसाद न्यौपानेले उद्योग व्यवसायीलाई कर तिरिरहन सुझाउनु भएको छ । कार्यालयले आयोजना गरेको आठौं कर सप्ताहको उद्घाटनको अवसरमा कार्यालय प्रमुख न्यौपानेले करले राष्ट्रको विकास हुने भन्दै सवैलाई कर तिरिरहन सुझाउनु भएको हो ।
उद्योग व्यवसायीले दोहोरो करका कारण आफुहरु मारमा परेको प्रसंगमा कार्यालय प्रमुख न्यौपानेले मुलुक संघीयतामा गईसकेकाले कर संकलन गर्नु राज्यको दायित्व भएको बताउनुभयो । आफु कपिलवस्तु आएपछि गतवर्ष कर सप्ताह मनाउदा आफुले गरेको प्रतिवद्धता अनुसार कार्यालयको सेवा छिटो छरितो बनाउन आफु लागि परेको बताउनुभएको हो । उहाँले सम्पूर्ण करदातालाई कर रहरले तिर्ने वातावरण बनाउने निति ल्याउनु पर्ने बताउनुभयो ।
स्वच्छ कर प्रशासन, विकास र सुशासन भन्ने नाराका साथ मंसिर १ गतेदेखि ७ गते सम्म मनाउने कर सप्ताहका अवसरमा उहाँले सरकारको निति नियम र प्रणाली खराव नभई व्यक्ति र काम गर्ने तौरतरिका खराब हुने तर्क गर्नुभयो । उहाँले कार्यालयमा वैंक काउण्टर संचालन गरेर कर बुझाउन आउने करदातालाई सहज भएको बनाएको र कार्यालयमा विचौलियाको अन्त्य भएको स्पष्ट पार्नुभयो । कार्यालय प्रमुख न्यौपानेले कपिलवस्तु उद्योग वाणिज्य संघले कार्यालयको काममा धेरै सघाएको बताउनुभयो ।
कार्यक्रममा कृष्णनगरका प्रमुख भन्सार अधिकृत विष्णु प्रसाद पौडेलले उद्योग व्यवसाय संचालन गर्नु चुनौतीको विषय भएको भन्दै उद्योग व्यवसायीलाई सम्मान गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ पौडेल, चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष जमशेर अलि मिया, कपिलवस्तु व्यापार संघका अध्यक्ष महादेव पोखरेल, व्यवसायी दिनेशचन्द्र गुप्ता लगाएतले विगतमा जस्तो कर कार्यालयका गाडि आउदा भाग्नुपर्ने अवस्था अन्त्य भएको बताएका थिए । अधिकांश बक्ताले कर तिर्न आउने करदातालाई अधिक्तम सेवा कार्यालयबाट दिनुपर्ने सुझाव दिएका थिए । कार्यक्रम कर अधिकृत पिताम्बर खनालको स्वागत, कर अधिकृत गहेन्द्र प्रसाद गिरीको सञ्चालनमा भएकोे हो ।
कार्यक्रममा सवैभन्दा धेरै कर बुझाउने करदाता संजय अग्रवालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कर सप्ताह अन्तरगत कार्यालयले विभिन्न कर शिक्षा, खेलकुद, करदातालाई सम्मान जस्ता कार्यक्रम गरेर मनाउने जनाएको छ । कर दिवसका अवसरमा सेन्ट जेभिएसका विद्यार्थी, उद्योग व्यवसायी सदस्यले कृष्णनगर बजारमा प्रभातफेरी गरेका थिए ।

प्रकाशित मिति : १ मंसिर २०७६ आइतबार ००:००  ७ : १६ बजे