११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

एकताको १८ महिनापछि पोलिटब्युरो गठन गर्दै नेकपा



काठमाडौं ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पोलिटब्यूरो गठन गर्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा ४ बजे डाकिएको सचिवालय बैठकले पोलिटब्युरो गठन गर्न लागेको हो ।
एकता भएको १८ महिना पूरा भइसक्दा पनि एकताले पूर्णता पाएको छैन ।
नेकपाको पार्टी विधानमा नै कुल केन्द्रीय सदस्य संख्याको एक तिहाइ सदस्य रहने गरी पोलिटब्युरो सदस्य हुने व्यवस्था छ । तर अहिलेसम्म नेकपाले पोलिटब्युरो गठन गर्न सकेको छैन ।
आजको बैठकमा पोलिटब्यूरो गठन हुने सचिवालय सदस्य माधवकुमार नेपालले जानकारी दिए । नेपालले भने ‘आज बस्ने सचिवालय बैठकमा पोलिटब्युरो बनाउने, सबै निकायहरूलाई पूर्णता दिने, प्रवासमा भएका र विदेशमा भएका संगठनको एकताको काम पूरा गर्नेगरी छलफल हुनेछ ।’
विधान अनुसार नेकपाको पोलिटब्युरो कुल केन्द्रीय सदस्यको एकतिहाई १ सय ४७ जना पोलिटब्युरो सदस्य हुने छन् । जसमा तत्कालिन एमालेबाट ८१ जना र तत्कालिन माओवादी केन्द्रबाट ६६ जना चयन हुनेछन् ।
दुवै पक्षका वरिष्ठ नेताहरूमध्येबाट पोलिटब्युरो बनाउने तयारी छ । स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले वरिष्ठ नेताबाट पोलिटब्युरो चयन हुने जानकारी दिए ।
पछिल्लो समयमा नेतृत्वहरू एकल र सामुहिक रूपमा पार्टी र सरकार संचालनको विषयमा छलफल गर्दै आएका छन् ।

प्रकाशित मिति : १ मंसिर २०७६ आइतबार ००:००  २ : २१ बजे