मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा प्रदेश ५ कै नमुना खानेपानी ल्याब बन्ने भएको छ । प्रदेश सरकारको २ करोड सहयोगमा ल्याब बन्न लागेको हो । यसको लागि गत आर्थिक बर्षमा प्रदेशले १ करोड विनियोजन गरेको र चालु आर्थिक बर्षमा पनि १ करोड निकासा गर्ने प्रदेश सांसद विष्णु पन्थीले बताउनु भयो ।
यो आयोजनाको डिपीआर पनि तयार भइसकेकाले अब ठेक्का प्रकृयामा गएर तुरुन्त निर्माण सुरु गरिने उहाको भनाई छ । गजेहडा भूपू सैनिक खानेपानी रहेको स्थान वाणगंगा १ उप्टहवामा यो योजनाको लागि ४ सय बर्ग फुट जग्गा पनि छुट्याई सकिएको छ भने नक्सांकन लगायतका काम पनि भइसकेको बाणगंगा गजेहडा भूपू सैनिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र वीक्रम शाहले बताउनु भयो ।
३ तलामा बन्न लागेको योजनाको पहिलो तलामा ल्याब बन्ने छ भने दोश्रो तल्लामा ल्याबको परीक्षण गर्ने ठुलो सभाहल बन्ने छ । यो योजना निर्माण सम्पन्न भएपछि प्रदेश ५ को सम्पूर्ण खानेपानीको परीक्षण बाणगंगामै हुने छ । प्रदेशका जुनसुकै स्थानबाट ल्याएको खानेपानीको नमुना परिक्षण २४ घण्टाभित्र हुने पनि शाहले जानकारी दिनुभयो ।
यस अघि पानीको कोलियो फर्म लगायत पानीका किटाणु जाँच गर्न प्रदेश ५ बाट राजधानी जानु पर्ने बाध्य थियो । अब योजना बनेपछि मुख्य गरी कपिलवस्तु बासीलाई धेरै फाइदा हुने छ । प्रदेश ५ को हकमा बाणगंगा नगरपालिकामा छोटो समयमा खानेपानीको क्षेत्रमा उल्लेख काम भएकाले प्रदेशले बाणगंगामा खानेपानी ल्याब बनाउन लागेको पन्थीले मायादेवी अनलाइनलाई बताउनु भयो ।
प्रतिक्रिया