९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

वालिङ र वाणगंगा नगरपालिकाका जनप्रतिनिधिबीच द्धिपक्षीय छलफल



मायादेवी अनलाइन, वाणगंगा ।
स्याङ्जाको वालिङ नगरपालिकाका उप-प्रमुख कल्पना तिवारीको नेतृत्वमा एक टोली वाणगंगा नगरपालिका आएको छ । शनिबार विहान वाणगंगा नगरपालिका आएको टोलीले नगरपालिकामा झण्डै दुई घण्टा विताएको थियो ।
वाणगंगा नगपालिकाले गरेका विकास निर्माणको बारेमा वालिङ नगरपालिकाका टोलीले बुझने प्रयास गरेका थिए । साथै दुई घण्टा दुवै नगरपालिकाबीच भए गरेका कामहरुको अनुभव आदानप्रदान भएको थियो ।
छलफल कार्यक्रममा सहभागी हुँदै वाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारुले वालिङ नगरपालिकाबाट वाणगंगामा आएर आफुहरुले गरेका कामको बारेमा बुझ्नु राम्रो कुरा भएको बताउनुभयो । वाणगंगा देशकै उत्कृष्ट नगरपालिका बनाउने ध्येयमा आफुहरु रहेको भन्दै हालसम्म भए गरेका कामहरुको अनुभव सुनाउनुभएको थियो ।
उप-प्रमुख चक्रपाणी अर्यालले वाणगंगा नगरपालिका सहमती र सहकार्यका बीच आगाडी बढेको सुनाउनुभएको थियो । नगरमा जनप्रतिनिधि र कर्मचारीबीच सुमधुर सम्बन्ध स्थापित गरेर आफुहरु अगाडी बढेको उहाँले सुनाउनुभयो । नगरको विकासमा सबै एकजुट नहुने हो भने कामको प्रगति नदेखिने भन्दै उहाँले यसमा आफुहरु सचेत पूर्वक लागेको बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले वाणगंगाबाट जनताले छिटो र छरिटो सेवा पाएको बताउनुभयो । नगरलाई प्रविधिमैत्री बनाउने काम भैरहेको भन्दै यसले सेवाप्रवाहमा राम्रो गर्ने विश्वास दिलाउनुभयो ।
वालिङ नगरपालिकाकी उप-प्रमुख कल्पना तिवारीले आफ्नो नगरपालिकाले गरेका कामको अनुभव सुनाउनुभएको थियो ।

प्रकाशित मिति : ३० कार्तिक २०७६ शनिबार ००:००  ९ : ०८ बजे