११ मंसिर २०८१, मंगलबार | Wed Nov 27 2024

बाणगंगाको पानीलाई भण्डारण गर्ने योजनाको डिपीआर बन्दै छः सांसद पन्थी



मायादेवी अनलाइन, वाणगंगा ।
प्रदेश ५ का सांसद विष्णु पन्थीले बाणगंगा नदीको पानीलाई भण्डारण गर्ने योजना बनिरहेको बताउनु भएको छ । विश्वमा बढीरहेको जलबायु परिवर्तनका कारण नेपालमा खोलानाला सुक्दै गएकाले जिल्लामा सिंचाई सुविधा पुर्याउन अब बाणगंगा नदीको पानीलाई भण्डारण गर्नुको विकल्प नरहेको बताउनु भएको हो ।
बाणगंगा र गजेहडा भूपू सैनिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिको शनिबार वैरियामा सम्पन्न पाचौँ बार्षिक साधारण सभाको अवसरमा बोल्दै प्रदेश सांसद पन्थीले भन्नुभयो– “बाणगंगा नदी प्रतिवर्ष सुक्दै गईरहेको छ । भोलीको दिनमा यसलाई भण्डारण गर्न सकिएन भने कपिलवस्तुबासी सिँचाईको मारमा पर्दछन् । अझ बाणगंगाबासीलाई सिँचाई पुग्दैन । त्यसैले यो समस्यालाई पूर्व दृष्टिगत गर्दै प्रदेश सरकारले बाणगंगाको पानीलाई भण्डारण गर्ने योजनाको डिपीआर पनि बनाइरहेको छ ।” अब छिट्टै यसको काम थालिने उहाँले बताउनु भयो ।
सांसद पन्थीले बाणगंगाका उपभोक्ताहरुलाई शुद्ध खानेपानी दिलाउने उद्देश्यले प्रदेश सरकारले ल्याब बनाउन लागेको पनि बताउँदै यसको श्रेय गजेहडा भूपू सैनिक खानेपानीलाई जाने बताउनु भयो । यस खोपानीले गरेका उपलब्धिले प्रदेश र राष्ट्रमै राम्रो छाप पार्न सकेकाले यहाँ अन्य ठुला योजना ल्याउन आफूलाई सजिलो भएको उहाँको भनाई छ ।
“बाणगंगाले अबको तिन चार बर्षमा ठुलै छलाङ् मार्दै छ । हेर्दै जानुस्, तिनचार बर्षमा यहाँ खाने पानी सडक निर्माण र रोजगारी सिर्जना लगायतमा केके हुँदै छ-उहाँले भन्नुभयो ।” चुनावका बेला जनतासंग बिभिन्न योजना र एजेण्डा लिएर गएको र कार्यकालभित्र ती सबै योजना पुरा गरि छाड्ने उहाँको भनाई छ ।
कार्यक्रममा खानेपानी डिभिजन कार्यालय रुपन्देहीका इन्जिनियर केदार न्यौपानेले पनि बाणगंगामा प्रदेश स्तरको नमुना प्रयोगशाला बन्न लागेको बताउनु भयो । बाणगंगामा बिभिन्न सात खानेपानी परियोजनाहरु बनिरहेको भन्दै अब बन्न लागेको खानेपानी प्रयोगशालाले यहाँ धेरै महत्व राख्ने बताउनु भयो । उहाँले खानेपानीलाई शुद्धिकरण गर्न हरेक दिन परीक्षणको आवश्यक रहेको बताउनु भयो ।
संस्थाका अध्यक्ष राजेन्द्र विक्रम शाहले आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विकासको दिगो लक्ष्य, खानेपानी तथा पूर्ण सरसफाइको योजनाको बारेमा प्रस्तुति दिनुभएको थियो । यस्तै सचिव कृष्ण बहादुर शाहीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाका कोषाध्यक्ष राममाया रानाले आर्थिक वर्ष २०७६/०७७ को लेखा परिक्षण प्रस्तुत गर्नुभएको थियो । समितीले चालु आर्थिक वर्षमा ८६ लाख ३२ हजार ९ सय ४० रुपैयाँ आम्दानी गर्न सफल भएको छ ।
कार्यक्रम समितीका अध्यक्ष राजेन्द्र विक्रम शाहको अध्यक्षता, उपाध्यक्ष झलक बहादुर मल्लको स्वागत मन्तब्य र सचिव कृष्ण बहादुर शाहीको सञ्चालनमा सम्पन्न भएको हो । सोही कार्यक्रममा समितीलाई विशिष्ट योगदाम पुर्याउने ५ जनालाई सम्मान गरिएको छ ।
सम्मानित हुनेहरुमा बल बहादुर थारु, चन्द्र बहादुर रेश्मी, लिल बहादुर पछाई, ओमबहादुर थापा र जयमल थारुलाई प्रमुख अतिथी विष्णु पन्थीले सम्मान गर्नुभएको हो । कार्यक्रममा खानेपानी अनुगमन समितिका संयोजक बालाराम ज्ञवाली, कानुनी सल्लाहकार कमल आचार्य, शिक्षाविद् नन्द किशोर शुक्ला, नारी अभियान्ता चेतना अधिकारी, समाजसेवी दोर्णराज सुवेदी, गजेहडा बजार विकास समितका अध्यक्ष गोविन्द ज्ञवाली लगायतले बोल्नु भएको थियो ।

प्रकाशित मिति : ३० कार्तिक २०७६ शनिबार ००:००  ८ : १० बजे