मायादेवी अनलाइन, वाणगंगा ।
लालीगुराँस बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाणगंगा जितपुरको शनिबार १३ औँ बार्षिक साधारण सभा तथा ७ औँ अधिवेशन सम्पन्न भएको छ ।
सहकारीका अध्यक्ष शंकर प्रसाद पौडेलको अध्यक्षता र नगरपालिकाका मेयर मंगल प्रसाद थारुको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । साधारणसभाको अवसरमा अध्यक्ष, सचिव र कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत भएको छ ।
सहकारीका सचिव सालिकराम भुसालले बार्षिक नीति र कार्यक्रमसहित बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने संस्थाले अहिलेसम्म हासिल गरेका उपलब्धिको बारेमा पनि उहाँले जानकारी दिनु भएको थियो ।
उहाँद्धारा प्रस्तुत प्रतिवेदनमा संस्थाले आर्थिक वर्ष २०७५।०७६ को ५ करोड ४ लाख ७५ हजार ८ सय ४९ रुपैया बराबरको कारोबार गरेको छ । यस्तै १५ लाख ३२ हजार ३ सय ३५ बढी रुपैयाँ खुद नाफा गर्न सहकारी सफल सफल भएको भूषालले जानकारी दिनुभयो ।
यस्तै संस्थाका कोषाध्यक्ष सालिकराम आचार्यले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदनमा संस्थाले गत बर्ष ६२ लाख ३९ हजार ४४ रुपैयाँ आम्दानी गर्न सफल भएको छ ।
यस्तै संस्थाका लेखा संयोजक नरेन्द्र टण्डनले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा ६९ जना असल ऋणी, असल बाल बचत कर्ता, असल उद्यमी, एसइइ २०७५ का उत्कृष्ट अंक ल्याउने छात्रछात्रा, सहकारीका पूर्व ब्यवस्थापक गणेश कार्की लगायतलाई सम्मान गरिएको थियो ।
यसैबीच सहकारीको साधारण सभा तथा अधिवेशनमा बोल्ने बक्ताहरुले सहकारीहरु अब उत्पादनमुखी काममा जुट्नुपर्ने बताएका छन् । संस्थाले शनिबार नै नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ ।
३० कार्तिक २०७६ शनिबार ००:००
0
Shares
प्रतिक्रिया