११ मंसिर २०८१, मंगलबार | Wed Nov 27 2024

हङकङविरुद्ध नेपाल ४० रनले विजयी



काठमाडौं ।
बंगलादेशमा जारी एसीसी इमिर्जिङ टिम एसिया कपमा नेपाल हङकङविरुद्ध ४० रनले विजयी भएको छ । टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले हङकङलाई २१८ रनको विजय लक्ष्य दिएको थियो । उक्त लक्ष्य हङकङले भेट्टाउन सकेन । उसले ४५.५ ओभरमा सबै विकेट गुमाउँदै १७७ रन मात्र जोड्न सक्यो ।
नेपालको जितका लागि शरद भेषवाकरले सर्वा्धिक ८९ रन जोडे । उनले १३९ बलको सामना गर्दै ९ चौका हिर्काए । त्यस्तै आरिफ शेखले ४२ रनको योगदान गरे । उपकप्तान दीपेन्द्रसिंह ऐरीले ३७ रन र विनोद भण्डारीले १५ रन बनाए ।
पहिलो खेलमा भारतसँग हार व्यहारेपछि नेपाललाई समूह चरण पार गर्न यो खेल जित्नै पर्ने दबाब थियो । तर आजै भएको अर्को खेलमा बंगलादेशले भारतलाई ६ विकेटले पराजित गरेपछि समूह चरण पार गर्ने यात्रा कठिन देखिएको छ ।
नेपालले अब बंगलादेशको यू–२३ टिमसँग सोमबार भिड्नेछ । यो खेल जितेमा ३ खेलबाट नेपालको ४ अंक हुनेछ । त्यसपछि हङकङले भारतलाई हराएमा नेपालको अघिल्लो चरणको यात्रा सहज हुन्छ । तर हङकङले भारतलाई जित्न कठिन छ । यस्तै नेपालले ठूलो अन्तरमा बंगलादेशलाई हराएमा र भारतले हङकङलाई सानो अन्तरमा जितेमा रनरेटका आधारमा नेपाल अघिल्लो चरण प्रवेश गर्न सक्छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७६ शनिबार ००:००  ७ : २२ बजे