११ मंसिर २०८१, मंगलबार | Wed Nov 27 2024

विश्व क्रिकेटका महान हस्ती सचिन काठमाडौंमा



काठमाडौं ।
विश्व क्रिकेटका महान हस्ती सचिन तेन्दुल्कर शुक्रबार साँझ काठमाडौं आइपुगेका छन् । युनिसेफको बालअधिकार सम्बन्धि सचेतनामुलक कार्यक्रममा सहभागिताका लागि सचिन काठमाडौं आएका हुन् ।
विमानस्थल स्रोतका अनुसार कडा सुरक्षाका साथ सचिनलाई होटल लगिएको छ । उनी शुक्रबार राति होटल द्वारिकामा बस्ने कार्यक्रम छ । शनिबार बिहान सचिनले त्रिवि क्रिकेट मैदानमा विनोद दासको टोलीसँग सद्भावना क्रिकेट खेल्नेछन् । उक्त खेल शनिबार १० बजे सुरु हुने भनिए पनि युनिसेफले ९ बजेभित्र नै मैदान प्रवेश गरिसक्नुपर्ने जनाएको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान विनोद दासले विश्व क्रिकेटका महान खेलाडी सचिन तेन्दुलकरको नेपाल आगमनले नेपाली क्रिकेटलाई उर्जा दिने बताएका छन् ।
शनिबार विनोदले सचिनसँग त्रिवि क्रिकेटमा मैदानमा सद्भावना क्रिकेट खेल्दै छन् । युनिसेफले बालबालिकाको अधिकारसम्बन्धी सचेतना जगाउन आफ्ना सद्भावना दूतसमेत रहेका सचिनलाई नेपाल ल्याएको हो ।
सचिन र विनोदको टिमका अन्य सदस्य भने बालबालिकाहरु हुनेछन् । विनोदले सामाजिक सञ्जालमार्फत सचिनविरुद्ध त्रिवि मैदानमा खेल्न लागेको पुष्टि गरेका थिए । उनले क्रिकेट शब्दको समानार्थी व्यक्तिसँग मैदान सेयर गर्न पाउँदा खुसी लागेको बताएका छन् ।

प्रकाशित मिति : ३० कार्तिक २०७६ शनिबार ००:००  ८ : २४ बजे