मायादेवी अनलाइन, वाणगंगा ।
आउँदै गरेको कर सप्ताहलाई भव्य रुपमा सम्पन्न गर्न बाणगंगा नगरपालिकाले शुक्रबार यस क्षेत्रका उद्योगी व्यावसायीसंग छलफल गरेको छ । कर सप्ताह २०७६ मनाइरहँदा अझै पनि कति उद्योगी व्यवसायी दर्ता्विना चलिरहेको र दर्ता भएका उद्योगी व्यवसायीले पनि कर नतिरेको पाइएकोले छलफल आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।
छलफलमा नगरपालिकाका प्रमुख मंगल प्रसाद थारु, उप प्रमुख चक्रपाणी अर्याल, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा, सबै वडाध्यक्षहरु, कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष उमानाथ पौडेल, राजश्व परामर्श समितिका प्रतिनिधि तथा उद्योगी ब्यवसायी सहभागी थिए ।
छलफलको क्रममा नगरपालिकाले उद्योगी व्यावसायीसंग लिइने करको प्रकृतिका बारेमा नगर प्रमुख थारु, उपप्रमुख अर्याल र कार्यकारी सापकोटाले जानकारी दिनुभएको थियो । उहाँहरुले असल ब्यवसायीले राज्यले बनाएको नीति मान्नु पर्ने र राज्यलाई कर तिर्नुपर्ने बताउनु भएको थियो ।
कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष उमानाथ पौडेलले अझै पनि कतिपय ब्यक्तिहरुले कर तिर्न आनाकानी गरिरहेकाले यसो गर्न नहुने बताउनु भयो । उहाँले कर सप्ताह मनाइरहँदा कुनै पनि उद्योगी व्यवसायी करको दायरा आउन नसक्नु विडम्वना हुने बताउनु भयो ।
यता ब्यापारी तथा ब्यवसायीले आफुहरुले कर तिरे पनि सरकारले आफूहरुलाई सुविधा नदिएर हैरान पार्न मात्र खोजेको भन्दै आक्रोश पोखेका थिए । राज्यले आफूहरुबाट बिभिन्न शीर्षकमा कर असुल्ने तर आफुहरुको हक अधिकारमा कुनै काम नगरेकाले ब्यवसायीहरु करको दायराबाट भाग्नु पर्ने अवस्थामा आएको बताएका थिए ।
यसैबीच हरेक ब्यवसायीलाई करको दायरा र दर्ता प्रकृयामा ल्याउन सहज होस् भनेर नगरका ११ वटै वडाहरुमा समिति चयन भएको छ । वडाध्यक्ष संयोजक रहने गरी बनाइएको समितिमा टोलविकास समितिका अध्यक्ष र उद्योग बाणिज्य संघका प्रतिनिधि रहने छन् ।
सो समितिले नियम विपरित चलेका र करको दायरामा नआएका ब्यापारी ब्यवसायीलाई आवश्यक परामर्श दिनछन् । समितिहरुमध्ये सबैभन्दा राम्रो काम गर्ने समितिलाई पुरस्कृत गर्ने पनि नगरपालिकाले जनाएको छ । नगरपालिकाले मंसिर १ गतेबाट कर संकलन अभियान पनि सुरु गर्न लागेकाले कर तिर्न छुटेका सबैलाई अभियानमा भाग लिएर मौकाको फाइदा लिन पनि अनुरोध गरेको छ ।
प्रतिक्रिया