मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको पवित्र धार्मिक स्थल बाणगंगा २ नन्दनगरमा विराट महायज्ञ हुने भएको छ । श्री कैलाश आश्रम तथा मनकामना दुर्गामन्दिरको आयोजनामा मनकामना संस्कृत विद्यापीठ गुरुकुलमको प्राङ्गणमा यही मंसिर १२ गतेदेखि १८ गतेसम्म व्रहम्म वैव्र्त पुराण पाठपारायण महायज्ञ हुने छ ।
कैलाश आश्रममा यज्ञ गर्न लागिएको २४ औँ पटक पुरा भई २५औँ रजत जयन्तिस्वरुप महायज्ञ गर्न लागिएको आश्रमले जनाएको छ । यसैको लागि शुक्रबार आश्रममा वृहत छलफल गरी यज्ञ आयोजक मूल समिति पनि गठन गरिएको छ । गुरुकुलमका अध्यक्ष रविराज ज्ञवालीको संयोजकत्वमा गठित २७ सदस्यीय समितिको उप संयोजकमा वडा नम्बर २ का वडाध्यक्ष विष्णु पौडेल रहनु भएको छ । सो समितिले शनिबार देखि नै काम थाल्ने संयोजक ज्ञवालीले बताउनु भयो ।
यसैबीच प्रदेश सांसद विष्णु पन्थीले महायज्ञलाई ज्ञानयज्ञ बनाउनुपर्ने बताउनु भएको छ । नन्दनगरमा आयोजना गर्न लागिएको महायज्ञको विषयमा भएको छलफलमा सांसद पन्थीले पछिल्लो समय महायज्ञको नाममा विकृति बढेको भन्दै पुराण तथा यज्ञहरुलाई ज्ञान आर्जन गर्ने अनुष्ठानको रुपमा लिनुपर्ने बताउनु भयो ।
प्रदेश ५ कै महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल नन्दनगर रहेकाले यहाँ आयोजना हुने हरेक क्रियाकलाप राष्ट्रकै लागि अनुकरणीय हुनुपर्ने उहाँको भनाई छ । मुलुकका बिभिन्न स्थानमा हुने गरेका महायज्ञहरुमा जवरजस्ति पैसा असुल्ने प्रवृत्ति बढेकाले आजभोली यसप्रति नै नकारात्मक धारणा बनेको उहाँको भनाई छ । उहाँले खुट्टा नकमाई कार्यक्रम आयोजना गर्न सुझाउँदै यसको लागि प्रदेशले सहयोग गर्ने बताउनु भयो । श्रृङ्गीऋषिको तपोभूमि पनि नन्दनगर भएकाले यहाँ आयोजना हुने कार्यक्रमले पर्यटन प्रर्वद्धन गर्न पनि टेवा पुग्ने उहाँको विश्वास छ ।
वडाध्यक्ष विष्णु पौडेलले नन्दनगरको विकास र त्यहाँ संचालित गुरुकुलमको शिक्षालाई गुणस्तरीय बनाउन यज्ञ आयोजना गर्न लागिएकाले सहयोग गर्न वडाबासीलाई आग्रह गर्नुभयो । उहाँले धर्मको रुपमा गरिने यस्ता कार्यक्रमले आतंक नै सिर्जना गरेकाले यो आतंक चिर्न महायज्ञ सफल हुनुपर्ने उहाँको भनाई छ । पौडेलले गुरुकुलममा शिक्षक दरबन्दी आवश्यक रहेको भन्दै यस विषयमा पौडेल सांसद पन्थीको ध्यानाकर्षण गराउनु भएको थियो ।
गुरुकुलमका सह प्रधानाध्यापक युवराज बेलबासेको संचालनमा सम्पन्न कार्यक्रमको उद्घाटन ज्येष्ठ नागरिक लालमणी न्यौपानेले गर्नुभएको थियो । महायज्ञ आयोजन गर्ने विषयमा कपिल धामका अध्यक्ष शंकर आचार्य, पतञ्जली योगपीठका अध्यक्ष कृष्ण मुरारी पराजुली समाजसेवी चुरामणी पौडेल, रेडियो मायादेवीका स्टेसन म्यानेजर चन्द्रकान्त न्यौपाने लगायतले बोल्दै सुझाव सल्लाह दिनुभएको थियो ।
महायज्ञमा प्रमुख बाचकको रुपमा पंडित दीपक सापकोटा रहनु हुने छ भने महायज्ञमा बनाइने स्टेज पाणिनीको आकारमा हुने पनि जानकारी दिइएको छ । शुक्रबार नै आश्रमले गत बर्ष गरिएको महायज्ञको आयब्यय सार्वजनिक गरेको छ ।
प्रतिक्रिया