काठमाडौं ।
जिल्ला सरकारी वकिल कार्यालय कोहलपुरले तरुण दलका जिल्ला सभापति सन्दीपजंग शाहलाई हातहतियार तथा खरखजना मुद्दामा पाँच वर्ष सजाय माग गर्दै अदालतमा मुद्दा दर्ता गरेको छ ।
गत कात्तिक १४ गते पक्राउ परेका शाहसहित चार जनालाई हातहतियार तथा खरखजनासम्बन्धी मुद्दामा सरकारी वकिल कार्यालयले बिहीबार अदालतमा मुद्दा दायर गरेको हो ।
मुलुकी अपराध संहिता-२०७४ को हातहतियार तथा खरखजनासम्बन्धी उक्त कसूर स्थापित हुन आएमा हातहतियार जफत गरी पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।
अभियोग-पत्रमा शाहसहित पक्राउ परेका माधव नेपाली प्रितम थापा र यमबहादुर बुढामगरलाई सो कसूरअनुसार अधिकतम सजाय माग गरिएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । मुद्दा दर्ता भए पनि बहस सुरू भने भइसकेको छैन ।
इलाका प्रहरी कार्यालय कोहलपुरले चारै जनामाथि हातहतियार तथा खरखजना मुद्दामा अनुसन्धान गरेको थियो । अनुसन्धानको प्रस्तावित राय बुधबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाइएको थियो ।
सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेपछि तरुण दल आन्दोलित छ । त्यसैको विरोधमा तरुण दलले शुक्रबार बाँके जिल्ला बन्द गराएको छ । शाहलाई प्रहरीले फसाउन खोजेको र त्यो हतियार प्रहरी आफैंले राखेको दाबी तरुण दलको छ । तर, प्रहरीले भने निष्पक्ष ढंगले अनुसन्धान गर्दा बरामद हतियार शाहकै भएको देखिएको बताएको छ ।
‘हाम्रो अनुसन्धानबाट बरामद हतियार प्रहरीले राखेको भन्ने कतैबाट देखिएन । शाह र उनका साथीहरू सवार गाडीबाटै बरामद भएको प्रमाणित भएकाले सोही अनुसार कसूरदार ठहर गरी प्रस्तावित राय बुझाइएको हो,’ बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर ओलीले भने । कात्तिक १४ गते इलाका प्रहरी कार्यालय कोहलपुरले नेपालगन्जबाट पेस्तोलसहित छ जनालाई पक्राउ गरेको थियो ।
२९ कार्तिक २०७६ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया