१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

हतियारसहित पक्राउ परेका कार्यकर्ता रिहाईको माग गर्दै कांग्रेसद्धारा बाँके जिल्ला बन्द



बाँके । 

नेपाली कांग्रेस जिल्ला बन्द गर्दै विरोधमा उत्रिएको छ । तरुण दलका नगर सभापति सन्दीपजंग शाहसहित चार जनालाई हतियारसहित पक्राउ गरेर हिरासतमा राखेको विरोधमा तरुण दलको अगुवाईमा नेपाली कांग्रेसले बाँके बन्द गराएको हो ।

आफ्ना नेता तथा कार्यकर्तालाई प्रहरीले हतियार राखेर फसाएको दावी गर्दै आएको तरुण दलले निरन्तर आन्दोलन गर्ने क्रममा बाँके बन्द गराएको हो । कांग्रेस नेता तथा कार्यकर्ताहरुले यातायात र बजार बन्द गराउदै हिँडेका छन् । शैक्षिक संस्था, कलकारखाना बन्द नै रहेका छन् ।

बजारका चोकचोकमा बसेर कांग्रेसका कार्यकर्ताहरुले मोटरसाइकल र अटोरिक्सासमेत बन्द गराएका छन् । समूह समूह बनाएर बजार बन्द गर्दै हिँडेका छन् । प्रदेश सांसद सुरेन्द्र हमाल, तरुण दलका अध्यक्ष विरेन्द्र शाहलगायतका नेता तथा कार्यकर्ताहरु बजार बन्द गर्दै हिँडेका छन् ।

तरुण दलका जिल्ला अध्यक्ष शाहले प्रहरीले नगर अध्यक्ष सन्दीपसहित चारजनालाई जबरजस्ती हतियार मुद्दामा फसाएको दाबी गरे । शिक्षण संस्था, कलकारखाना, बजार, यातायात बन्द हुँदा जनजीवन प्रभावित भएको छ । बाँके प्रहरीले अप्रिय घटना हुन नदिन चोकचोकमा ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७६ शुक्रबार ००:००  १ : १४ बजे