मायादेवी अनलाइन, कपिलवस्तु ।
विश्व मधुमेह दिवसको अवसर पारेर कपिलवस्तुको वाणगंगा नगरपालिकाले स्वास्थ्य प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । नगरपालिकाको सभाहलमा भएको एक कार्यक्रममा नगरले स्वास्थ्य प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो ।
कार्यक्रममा नगर र नगरबासीलाई स्वच्छ र स्वस्थ बनाउन तयार पारिएको स्वास्थ्य प्रतिवद्धता पत्र नगरका जेष्ठ वडाध्यक्ष वडा नम्बर १० का राम विहारी चौधरीले पढेर सुनाउनु भएको थियो ।
नगर प्रमुख मंगल प्रसाद चौधरी, उप प्रमुख चक्र अर्याल र कार्यकारी अधिकृत कृष्ण प्रसाद सापकोटाद्धारा प्रतिवद्धता पत्रमा धुम्रपान मद्यमान सेवन गर्न नहुने, खानपानमा विशेष ध्यान दिनु पर्ने, आफ्नो सेवा क्षेत्र कार्यालयदेखि १ सय मिटर भित्र कुनै पनि सुर्तिजन्य पदार्थ सेवन गर्न नपाइने, हरेक कार्यालयलाई क्रोधरहित बनाउनु पर्ने, कार्यालयमा मुस्कान सहितको सेवा दिनुपर्ने, बिभिन्न कार्यालयमा बिभिन्न प्रचार प्रसार सामग्री टाँस्न नपाइने लगायतका बुँदाहरु समावेश छन् ।
यो प्रतिवद्धता पत्र अनिबार्य रुपमा कार्यान्वन गर्न नगरबासीमा नगरपालिकाले सबैलाई अनुरोध गरेको छ । सो प्रतिवद्धता पत्रमा नगरका विशिष्ट व्यक्तिहरुले हस्ताक्षर गरेका छन् ।
नगर उपप्रमुख चक्र अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सांसद विष्णु पन्थीले हरेक नागरिक स्वस्थ नहुँदासम्म नगरको विकास हुन नसक्ने बताउनु भयो ।
हरेक स्थानीय तहको ध्यान अब नागरिकतलाई स्वस्थ बनाउने तर्फ केन्द्रित गर्न पनि उहाँले सुझाउनु भयो । राजमार्ग र सडक विकास जस्तो स्वास्थ्य क्षेत्र नभएकाले अब सबै एकजुट भएर लागे मात्र स्वस्थ नागरिक र सवृद्ध नगर बन्ने उहाँले बताउनु भयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा, उप सचिव बाबुराम भट्टराई, शिक्षा अधिकृत खिम बहादुर जिसी, स्वास्थ्य शाखाका प्रमुख ठगराज पौडेल लगायतले बोल्दै नगरबासीमा स्वास्थ्य चेत नहुँदा सम्म जति कार्यक्रम गरे पनि उपलब्धि हासिल गर्न नसकिने बताउनु भयो ।
देशभर ६६ प्रतिशत मानिसको मृत्यु नसर्ने रोगको कारण भएको भन्दै उहाँले यसको मृत्युदरलाई कम गर्न यो कार्यक्रम गरिएको स्वास्थ्य शाखा प्रमुख पौडेलको भनाई छ ।
कार्यक्रममा नगरका जन स्वास्थ्य निरिक्षक कुल प्रसाद पन्थी र पिपरा अस्पतालकी डाक्टर रंजिता महतोले स्थानीय तहमा नसर्ने रोगहरुको बारेमा अभिमुखीकरण दिनु भएको थियो । नसर्ने रोगले आज विश्व नै आक्रान्त भएकाले यसबाट बच्नु पर्ने उहाँहरुले बताउनु भयो ।
मानिसको खानपान र जीवन शैली मात्र परिवर्तन गर्न सके धेरै रोगहरुबट बच्न सक्ने उहाँहरुले बताउनु भयो । अभिमूखीकरणपछि वडा नम्बर ७ का वडाध्यक्ष विष्णु गिरी र संचारकर्मी चन्द्रकान्त न्यौपानेले बोल्दै तालिम उपयोगी भएको बताउनु भयो । कार्यक्रममा नगरका बिभिन्न संघसंस्था, शैक्षिक प्रतिस्ठान तथा राजनैतिक दलका प्रमुख र प्रतिनिधिकोे सहभागिता थियो ।
२९ कार्तिक २०७६ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया