१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

चीनले भन्योः हामीले सीमा मिचेका छैनौं, केही मिडियाले गलत कुरा लेखे



काठमाडौं ।

पछिल्लो समय नेपाली भूमिलाई भारतले आफ्नो सीमाभित्र राखेको विषयमा उत्तरी छिमेकी चीनले प्रतिक्रिया दिएको छ ।

बिहीबार पत्रकारसँग कुरा गर्दै काठमाडौंस्थित चिनियाँ राजदूतावासका प्रवक्ता वाङ सिओयोलोङले कालापानी क्षेत्रको विवाद नेपाल र भारतले वार्ता र परामर्शका आधारमा टुंग्याउनु पर्ने बताए ।

उनलाई भर्खरै भारतले कालापानी क्षेत्रलाई समेटेर जारी गरेको नयाँ नक्साले नेपाल-भारत सीमा विवादलाई तीव्र बनाएको छ । नेपाली पक्षले यसमा धेरै चासो र असन्तुष्टि व्यक्त गरेको छ । यसबारे चीनको धारणा के छ ? योसँगै चीनले पनि नेपालको ३६ हेक्टर जमिन मिचेको भन्ने समाचारहरू आएका छन् । यसबारे के भन्नुहुन्छ भनी सोधिएको थियो ।

जवाफमा दूतावासका प्रवक्ताले कालापानी क्षेत्रको विवाद मित्रवत् परामर्श र वार्ताका माध्यमबाट टुंग्याऊन् भन्ने चीनको चाहना रहेको बताए ।

‘चीन सधैँ नेपालको सम्प्रभुता र भौगोलिक अखण्डताको सम्मान गर्छ,’ प्रवक्ता सिओयोलोङले भने,‘केही गैरजिम्मेवार व्यक्ति र मिडियाले चीनले नेपालको सीमा मिच्यो भनेको हामीले सुनेका छौं । यस्ता आरोप आधारहीन छन् । उनीहरूको उद्देश्य जनमानसमा के सत्य के गलत हो भ्रम पारेर जनताको ध्यान मोड्ने देखिन्छ ।’

उनले नेपाल र चीनले सन् २०६१ मा सीमा सन्धीमा हस्ताक्षर गरेको र सोही सन्धीका आधारमा सीमा तय भएको उल्लेख गरे ।

‘त्यसपछिका वर्षहरूमा दुबै पक्षले सीमा र सुख्खा बन्दरगाहजस्ता मुद्दा राम्रो सहकार्य गरिरहेका छन् ।  अक्टोबरमा भएको राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा पनि दुबै पक्षले सीमा व्यवस्थापन प्रणालीमा हस्ताक्षर गरेका छन्,’  उनले भने,‘चीन नेपालसँग सीमा समस्या, बाहिर हस्तक्षेपको विरोध र साझा विकासका लागि सहकार्यलाई थप बलियो बनाउन चाहन्छ ।’

उनले नेपाल-चीन सम्बन्धमा फाटो ल्याउने कुनै पनि प्रयास सफल नहुने पनि बताए । यसअघि भारतले जम्मु कस्मिरलाई दुई केन्द्र शासित क्षेत्र बनाउने निर्णय कार्यान्वयन गर्न भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूमि कालापानी क्षेत्रलाई भारतमा देखाइएको थियो ।

भारतको उक्त नक्साको नेपालमा चर्को विरोध भएको थियो । सोमबार संसदको राज्यव्यवस्था समितिमा नेपाली कांग्रेसका सांसदद्वय अमरेशकुमार सिंह र देवेन्द्रराज कँडेलले चीनले पनि नेपाली सीमा मिचेकाले त्यसतर्फ पनि ध्यान दिनुपर्ने बताएका थिए ।

प्रकाशित मिति : २८ कार्तिक २०७६ बिहिबार ००:००  ७ : १० बजे