११ मंसिर २०८१, मंगलबार | Wed Nov 27 2024

गुल्मीमा एक महिला र दुई बालिकाको हत्या गर्ने पक्राउ



शिवलाल सुवेदी, गुल्मी ।
गुल्मीको चन्द्रकोट गाउँपालिका–३ हर्राचौरमा भएको हत्याकाण्डमा संलग्न भएको आशंकामा प्रहरीले बुधबार राति कास्कीबाट २ जनालाई पक्राउ गरेको छ । प्रहरी स्रोतका अनुसार बागलुङको गल्कोट नगरपालिका–८ थालेपोखराका माधव सुनार र पूर्णबहादुर सुनार पक्राउ परेका हुन् । घटनामा संलग्न एक जना फरार छन् । सुनार काका भतिजा भएको खुलेको छ । हर्राचौरको चौराली पोखराको जंगलमा कात्तिक १६ गते दुई बालिकासहित एक महिलाको विभत्स तरिकाले हत्या गरेर फालेको अवस्थामा शव फेला परेको थियो । मृतक तीनै जनाको पहिचान खुलेको छैन । पक्राउ परेकाको प्रारम्भिक बयानमा उनीहरु कानेपोखरी गाउँपालिका–३ कानेपोखरी मोरङका रहेको जानकारी खुलेको छ । पक्राउ परेकालाई थप सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीमा ल्याउँदै गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले पक्राउ परेका दुवै जनालाई गुल्मी ल्याएपछि थप विवरण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने बताए ।

प्रकाशित मिति : २८ कार्तिक २०७६ बिहिबार ००:००  १ : ५१ बजे