मायादेवी अनलाइन, वाणगंगा ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सम्बद्ध राष्ट्रिय युवा संघ नेपालले जिल्ला नेतृत्व टुंगो लगाएको छ । ७७ वटै जिल्लामा संयोजक र सहसंयोजक चयन गरेको युवा संघले यही कात्तिक ३० गते काठमाडौंमा केन्द्रीय समितिको शपथग्रहण र मंसिर १ गते राष्ट्रिय भेलासमेत आयोजना गरेको छ ।
युवा संघ कपिलवस्तुको संयोजक विजय कुँवर भएका छन् । उनी तत्कालिन वाइसीएलका हुन् । यस्तै सह संयोजक कृष्ण कार्कीले पाएका छन् । उनी चन्द्रौटा निवासी हुन् । उनी युवा संघ नेपालका हुन् ।
यसअघि १६ कात्तिकमा जिल्लाहरु साविक वाईसीएल वा साविक युवा संघ कसको भागमा रहने भनेर टुंगो लगाइए पनि संयोजक र सहसंयोजक तोकिएको थिएन ।
७७ जिल्ला कमिटीमध्ये तत्कालीन एमाले निकट युवा संघले ४२ र साविक योङ कम्युनिस्ट लिग (वाईसीएल) ले ३५ जिल्ला संयोजक पाएका छन् । त्यस्तै, वाईसीएलले ४२ जिल्ला इञ्चार्ज र युवा संघले ३५ जिल्ला इञ्चार्ज पाएका छन् । यद्यपि जिल्ला इञ्चार्ज र सहइञ्चार्ज तोक्न बाँकी छ ।
युवा संघको केन्द्रीय कमिटी ३३५ सदस्यीय छ । केन्द्रीय कमिटीका सदस्यहरुको शपथ ग्रहण तथा बैठक यही कात्तिक ३० गते बत्तिसपुतलीस्थित अनुपम पार्टी प्यालेसमा हुनेछ । त्यसैगरी मंसिर १ गते राष्ट्रिय भेला हुनेछ ।
भेलामा जिल्ला संयोजक–सहसंयोजकका साथै एक जिल्ला बराबर दुई जना महिला र केन्द्रीय सदस्यहरुलाई सहभागी गराइने युवासंघ अध्यक्ष दीपशिखाले जानकारी दिए । भेलालाई नेकपाका दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)ले सम्बोधन गर्ने छन् ।
प्रतिक्रिया