बीबीसी ।
दक्षिण अमेरिकी मुलुक बोलिभियाको सिनेटकी उपप्रमुख जानिन्ये आनीएसले आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषणा गरेकी छन् ।
राष्ट्रपति मोरालेसले राजीनामा दिएर मेक्सिको गएपछि उनले आफूलाई सो पदमा नियुक्त गरेकी हुन् ।
उनको नियुक्ति गर्न आयोजित कङ्ग्रेस बैठकलाई मोरालेस नेतृत्वको समाजवादी पार्टीले बहिष्कार गरेको थियो । अर्थात् उक्त बैठकमा कोरम पुगेको थिएन । आनिएसले संविधान अनुसार आफू नै राष्ट्रपतिको लाइनमा रहेको बताएकी छन् ।
तर हाल मेक्सिकोमा पुगेका पूर्व राष्ट्रपति मोरालेसले ट्वीट गर्दै आनिएसलाई कपटपूर्ण दक्षिणपन्थी कू को एक अङ्ग भएको आरोप लगाए । आनिएसले चाँडै निर्वाचन गराउने भनेकी छन् ।
बोलिभियाका महान्यायाधिवक्ताका अनुसार गत महिना भएको विवादित राष्ट्रपतीय निर्वाचनपश्चात् भएका आन्दोलनका क्रममा ७ जनाको ज्यान गएको थियो । पूर्व राष्ट्रपति मोरालेसले आइतवार राजीनामा गरेका हुन् ।
उनले आफ्नो ज्यान जोखिममा रहेको भन्दै मेक्सिकोमा शरण मागेका थिए । आफूलाई पद छाड्न दबाव दिइएको भन्दै उनले थप रक्तपात नहोस् भनेर आफू हटिदिएको बताएका छन् ।
एउटी सिनेटर कसरी अन्तरिम राष्ट्रपति ?
मङ्गलवार आनिएसले सिनेटको अस्थायी नेतृत्व आफ्नो हातमा लिइन् । जसले उनी राष्ट्रपतिको लाइनमा पुगिन् ।
उच्चपदस्थ नेताहरूको शृङ्खलाबद्ध राजीनामाका कारण उनले राष्ट्रपतिको पद सम्हालेकी हुन् ।
उनलाई नियुक्त गर्न डाकिएको संसदीय बैठकलाई मोरालेसको समाजवादी दलले बहिष्कार गरेको थियो । सो दलले उनको नियुक्तिलाई अवैध भनेको छ ।
“राष्ट्रपति, उपराष्ट्रपति ‘ तथा चेम्बर अफ सिनेटर्सका अध्यक्षको अनुपस्थितिमा मैले, संवैधानिक व्यवस्था बमोजिम, राष्ट्रपतिको पद तत्काल सम्हालेको छु,“ आनिएसले घोषणा गर्दा उपस्थित सांसदहरूले ताली बजाएका थिए । बोलिभियाको सर्वोच्च संवैधानिक अदालतले उनको नियुक्तिको समर्थन गरेको छ ।
प्रतिक्रिया