११ मंसिर २०८१, मंगलबार | Wed Nov 27 2024

‘गोमन सर्प’को उद्धार अघि र पछिको चाखलाग्दो कथा !



चन्द्रकान्त न्यौपाने, कपिलवस्तु ।
कार्तिक २४ गते सोमबार विहान कपिलवस्तुको चार नम्बरस्थित होराइजन चोकनेर एक्कासी मानिसहरुको चहलपहल बढ्यो । विहान करिब साढे ६ बजेतिरबाट सुरु भएको चहलपहल करिब ८ बजेसम्म आइपुग्दा ठुलो भीँडमै परिणत भयो । म पनि के दुर्घटना भएछ भनेर हतार हतार गरी त्यहाँ पुगेँ । अन्य संचारकर्मी साथीहरु पनि के भएछ भन्दै क्यामेरा तेर्साउँदै चोकमा आउँदै थिए । यस स्थानमा धेरै दुर्घटना भइरहने भएको हुँदा अन्य सबैले त्यही शंका गर्दै भरिँदै थिए । तर त्यहाँको भीँडपछाडीको कथा अलिक अनौठो खालको रहेछ ।
स्थानीय विष्णु खनाल घरको पसलमा एउटा गोमन प्रजातिको सर्प आएर बसेको रहेछ । अघिल्लो साँझ पसल बन्द गरी खनालले दुईवटा प्याजका क्यारेट एकै ठाउँमा खप्टाएर राख्नु भएको रहेछ । विहान ६ बजे उठेर पसल खोलेर प्याजका क्यारेट बाहिर सार्दा सोही प्याजको क्यारेटमा एउटा ठुलै सर्प बसेको रहेछ । सर्प देखेपछि डरले हक्कानिनु भएका खनालले केही स्थानीयको सहयोगमा सर्प रहेको क्यारेटलाई घिसारेर सडकको बीचमा ल्याउनु भयो । त्यसपछि सर्प हेर्नको लागि मानिसहरुका भीँड बढ्न थाल्यो । खनालले सर्प नाग देवताजस्तो देखिएकाले नमारी सडकमा ल्याएर छोडिदिनु उत्तम लागेकाले सडकमा ल्याएको बताउनु भयो । सर्प फणा फिँजाएर बसिरहेको थियो ।


एका विहानै भएकाले सर्प पनि प्राय निस्किृय जस्तै अवस्थामा रहेको खनालले हामीलाई बताउनु भयो । घिसारेर सडकमा ल्याउँदासमेत सर्प सक्रिय थिएन । सर्प धेरै ठुलोर निकै विषालु जस्तो लागेपछि पसलधनी खनालले इलाका प्रहरी कार्यालय पिपरालाई खबर गर्नुभएछ । सर्पको आतंकको खबर पाए लगत्तै प्रहरी नायव निरिक्षक दामोदर डाँगीको नेतृत्वमा प्रहरी टोली सर्प भएको स्थलमा आइपुग्यो । प्रहरी त्यहाँ आइपुग्दासम्म सर्वसाधारणको पनि ठुलै जमघट थियो । सडकको बीच भागमा सर्प राखिएकाले आवतजावतमा पनि समस्या भइरहेको थियो । के गर्ने कसो गर्ने सबैमा अन्यौलता थियो । कतिपयले सर्पलाई मार्नुपर्छ भन्दै थिए त कतिपयले यो दुर्लभ प्रजातिको जस्तो देखिएकाले मार्न नहुने बताइरहेका थिए । कतिपयले ‘नागदेवता’ भनी फुलपाती चढाएर सर्पलाई पुजा गर्न थाले । स्थानीय एक वृद्धाले त जीवनको उत्तरार्धमा नाग देवता देख्न पाएकोमा अब स्वर्ग जान पाइने बताउँदै फुल अर्पण गरिरहनु भएको थियो । स्थानीयले सर्प मार्न भन्दै लाठी, भाटा, भाला र मट्टितेल ल्याउन जमर्को गरिरहेका थिए । तर प्रहरीले सर्पलाई मार्न पनि नहुने र भगाउन पनि नहुने भन्दै यसको उद्धारमै लाग्नु पर्ने बताइरहेको थियो । वनको सम्पत्ति (दुर्लभ जीव) भएकाले सर्प मारे कानुन लाग्ने र भगाए पनि यसले अरु स्थानीयलाई डस्न सक्ने भएकाले यसलाई नियन्त्रणमा ल्याउने जुक्तिमै प्रहरी थियो ।
यी सवै क्रियाकलाप भइरहँदा विहानको करिब पौने ८ बजिसकेको थियो । सर्पको विषयमा धेरै टिकाटिप्पणी पनि भइरहेको थियो । केही ब्यक्तिले आफूले धेरै सर्पहरु समातेर लट्ठाएको बताउँदै त्यसलाई पनि समात्न सक्ने बताउँथे तर सर्प निकै ठुलो र विषालु भएकाले आँट गर्न सकिरहेका थिएनन् । कतिपयले बोराले समात्ने, डोजर ल्याएर क्यारेट उठाएर लैजानु पर्ने, सर्पको टाउकोमा डब्बा घोप्टाएर नियन्त्रणमा ल्याउनु पर्ने जस्ता अव्यावहारिक हुर्मत गर्दै थिए । तर यी उपायहरुमा प्रहरी कन्भिन्स थिएन । मानिसको भीँड भए पनि प्रहरी नायव नीरिक्षक डाँगीले यसलाई नियन्त्रण गरी यसलाई प्राकृतिक बास स्थानमै पठाउनु पर्ने बताइरहनु भएको थियो । त्यो सर्प प्याजको क्यारेटमा कसरी आयो त्यो भने कसैलाई थाहा भएन ।  घर धनी पनि यसबारे अनभिज्ञ हुनहुन्छ । साँझ केही थिएन विहानसम्म सर्प कसरी क्यारेटमा आयो आफूहरु पनि अचम्ममा परेको खनालको भनाई छ ।

सर्पको विषयमा कसले के लख काटे ?

यत्तिकैमा सर्प हेर्न आइरहेकाले पनि प्रजातिको विषयमा बिभिन्न लख काटिरहेका थिए । सर्पलाई कसैले करेत, कसैले गोमन, कसैले कोब्रा, कसैले किङ कोब्रा, कसैले धमिला त कसैले नाग सर्पको संज्ञा दिइरहेका थिए । मायादेवी रेडियोकर्मी बिमल गरैले आजसम्म यत्रो सर्प नदेखेको बताउनु भयो । ७१ बर्षिय स्थानीय चेमकला पौडेलले यो विषालु सर्प भएर नाग देवता भएको बताउनु भयो । चार नम्बर निवासी एक युवक सरोज घिमिरेले किङ कोब्रा भएको बताइरहनु भएको थियो । इन्टरनेटमा सर्च गर्दा पनि त्यो उस्तैउस्तै देखिन्थ्यो । स्थानीय ब्यावसायी माधव भाट क्षेत्रीले त अहिलेसम्म टिभीमा धेरै थरी र ठुलाठुला सर्प देखेपनि आँखा अगाडी पहिलोपटक यति ठुलो सर्प देखेको बताउनु भयो ।
प्रहरीको नेतृत्व गर्दै आउनु भएका इलाका प्रहरी कार्यालयका प्रहरी नायव नीरिक्षक दामोदर डाँगीले तराई क्षेत्रमै करिब ३१ बर्ष विताए पनि यति ठुलो सर्प नदेखेको बताउनु भयो । मलाई पनि यो सर्प देखेर अचम्मैको अनुभूति भइरहेको थियो । सर्प कुन प्रजातिको भन्नेमा पनि मतहरु बाझिएका थिए ।स्थानीय मात्र होइन गजेहडा चार नम्बर सडक खण्ड भएर चल्ने कार, जीप, बस, ट्रक, मोटरसाइकल, साइकलमा हिँड्नेहरु समेत सर्प देखेपछि अचम्म मान्दै आवतजावत गरिरहेका थिए । यतिखेरसम्म विहानको सबा ८ जति बजेको थियो । मानिसहरु सर्पको फोटो र भिडिओ खिच्नमै ब्यस्त थिए । प्रहरी पनि के गर्ने कसो गर्ने अन्यौलमा थियो । ८ बजेसम्म सर्पको शरीरमा छाँयाँ परेकाले सर्प त्यति सक्रिय हुन सकिरहेको थिएन । केवल मन्टो उठाएर फँणा फिँजाउने बाहेक सर्प यताउती हिड्ने गर्न सकेको थिएन । करिब डेढ घण्टासम्म सर्प क्यारेट छोडेर कहिँ कतै भागेन ।
विलम्ब भइसकेको थियो । मानिसहरुको चहलपहल पनि बढ्दै थियो भने सडकमा पनि मानिसहरुलाई आवतजावतमा समस्या भइसकेको थियो । अब कि त सर्पलाई नियन्त्रणमा लिनु पर्ने थियो कि त सर्पलाई भगाउनु पर्ने कि त मार्नु पर्ने विकल्पबाहेक अरु कुनै जुक्ति थिएन त्यहाँ । प्रहरी पनि हैरान थियो । ढिलो गरौँ भीँड थामिसक्नु थिएन । सर्पलाई नियन्त्रणमा लिनु चानेचुने कुरा थिएन । सर्प सलबलाउन आँट्दै थियो । यत्तिकैमा एकजना स्थानीयले झुलको सहायताले सर्प नियन्त्रणमा आउन सक्ने बताए । यो जुक्तिमा प्रहरी पनि कन्भिन्स भए र सर्प समात्ने निर्णयमा पुगे । त्यसपछि एक जना स्थानीयको घरबाट ठुलो झुल ल्याएर माछा मार्ने शैलीमा करिब ५ मिटर परबाट प्रहरी सई डाँगी, केही स्थानीय र म स्वयम्ले झुल घिसार्दै सर्पलाई जालमा पार्यौँ । सबैले ताली बजाए । सबै खुसी भए । अनि त्यसलाई एउटा बोरामा प्याक गरियो । सर्प गोमन प्रजातिको निकै विषालु रहेछ । सर्प अन्दाजि ७ किलो भन्दा माथिको वजनको थियो । करिब ४ मिटर जति लामो देखिएको सर्पको मोटाइ पनि राम्रै थियो । मोटाई अनुमान गर्न सकिएन ।
त्यसपछि मानिसहरुको भीँड कम भयो । सडक खाली भयो । तर समस्या के भयो भने अब यो सर्पलाई के गर्ने ? कहाँ ब्यवस्थापन गर्ने ? त्यहाँ रहेकामध्ये कतिपयले राजापानी सामुदायिक बनमा चिडिया खाना भएकाले त्यहीँ छोडिदिने भन्दै थिए । प्रहरीले भन्दै थियो जंगलमा लगेर छोड्नु पर्छ । यत्तिकैमा हामी सर्पको भारी बोकेर इलाका प्रहरी कार्यालय पिपरा पुग्यौँ । त्यसपछि इन्सपेक्टर आयूष प्रसाद जोशी, सई डाँगी र मेरो सल्लाहामा वनको सम्पत्ति भएकाले वनलाई नै हस्तान्तरण गर्नुपर्ने निष्कर्ष निकाल्यौँ र सबैको सल्लाहामा वन सव डिभिजन कार्यालय पिपरालाई फोन गर्यौँ । प्रहरीले एउटा पत्र काट्यो । यत्तिकैमा सव डिभिजनका वन कार्यालय पिपराको टोली गाडी लिएर आइपुग्यो । कार्यालयका सहायक बन अधिकृत खिल बहादुर तामाङलाई हामीले हस्तान्तरण गर्यौँ । उहाँहरुले सर्पलाई उसको प्राकृतिक बास स्थानमा लगेर छोड्नु पर्ने बताउनु भयो । अनि हामी फेरि सर्पको उद्द्धारको लागि भन्दै जंगलको एकान्त स्थानमा जाने निधो गर्यौँ । स्थान छनोट गर्ने क्रममा मायादेवी साझेदारी वनलाई रोज्यौँ र हामी फेरि पिपरा लखनचोकबाट करिब १० किलोमिटर उत्तरतर्फ लाग्यौँ । करिब १० मिनेटको गाडी यात्रापछि हामी घनघोर जंगलको बीचमा पुग्यौँ । यो टोलीमा संचारकर्मीको तर्फबाट म मात्र थिएँ भने वन र प्रहरीको तर्फबाट अरु ५ जना थिए । हामी गाडीमा सवारी गरिरँदा पछाडी बसेका साथीहरु भने निकै डराइरहेका थिए । किनभने सर्प धएको क्यारेट पछाडीको सिटमा थियो ।

यसरी गोमनको उद्धार गरियो

सर्प उद्धारको लागि हामी पुग्न त जंगलको एकान्तमा पुग्यौँ । तर कसरी सर्पलाई बाहिर निकाल्ने एकछिन द्धिविधामा पर्यौँ । सर्प रिसाएर चुर थियो । घाम पनि बोरामा परेकाले सर्प अब पुरा सक्रिय थियो । सर्पको स्वाँस्वाँ आवाज पुरै बाहिर आएको थियो । सर्पको त्यो स्वाँस्वाँ आवाजले हामी हक्कानियौँ । यो त फरक्क फर्केर नै डस्न आउन सक्छ । एकछिन अलमलमै भयौँ हामी । प्रहरी सई डाँगी पनि डराउनु भएको थियो सर्पको आवाजले । वन अधिकृत तामाङले पनि के गर्ने एकैछिन केही भन्न सक्नु भएन । हामीसंग सुरक्षाको लागि केही लौरा साथमा थिए । पहिला गाडीबाटै ओर्लेरै सर्पलाई बाहिर छोडौँ लाग्यो तर त्यो निकै जोखिमपूर्ण थियो । रिसाएको सर्प फकेर आएमा हामीलाई डस्ने खतरा उत्तिकै थियो । त्यसपछि सई डाँगीले गाडीको माथिबाटै ढाला नखोली भुईमा छाडिदिएमा केही सुरक्षित हुन सकिने बताउनु भयो र उहाँकै सल्लाहामा हामीले विस्तारै सर्प छोपिएको बोराको मुख काट्यौँ । सर्प डगमगडगमग गरिरहेको थियो । त्यो क्यारेट समाउनेहरुको पनि हात लगलग कापीरहेको थियो । म भिडियो बनाउन भन्दै अझै माथिल्लो छतमा गएँ । त्यसपछि बोराको मुख काटेर सर्प भएको क्यारेटलाई भुईमा छोडिदियौँ । सर्प झुलमा लट्पटिएको थियो । रिसले आगो भएको सर्पले झुल नै च्यात्लाजस्तो गरेर बाहिर निस्कन प्रयास गरिरहेको थियो । झुलबाट बाहिर निस्कने बाटो नभेटाएर छट्टाईरहेको सर्पलाई बाहिर निकाल्न हामीले भाटाको सहायताले मुख तर्फ धकेलिँदियौँ ।  अझै एकछिन सर्प बाहिर निस्कन हरदम शक्ति लगाइरहेको थियो ।सर्प भुनभुनिएको थियो ।

Image may contain: 7 people, including Chandra Kanta Neupane, people standing, beard and outdoor
हाम्रो पनि डरले मुटु भटभट गरिरहेको थियो । एकैछिनको प्रयासपछि सर्पले आफै झुलबाट बाहिर जाने बाटो भेट्यायो । हामी लौन भन्दै तर्सेर र जीपको छततर्फ चढ्न आँटेका थियौँ । तर हामीले लख काटेजस्तो गरी सर्प मडारिएन । हाम्रो सोचाई विपरित सर्प आनन्दले शान्त शैलीमा घस्रन थाल्यो । हामीले कति नै उफ्रेर के नै गर्छ होला भन्ने सोँचेका थियौँ तर सर्पले शान्तपना प्रदर्शन गर्यो । सर्पको पुच्चछरतर्फ केही चोट लागेको जस्तो देखिएको थियो । तर हामीले के भएको रहेछ भनेर ठ्याक्कै जान्न सकेनौँ । सर्प विस्तारै हिँड्न थाल्यो ।

सर्पको हिँडाइले यो बताइरहेको थियो कि ऊ धेरै थाकेको थियो । अताल्लिएको थियो । कहिले बाहिर निस्केर खुला प्रकृतिमा रमाउन पाउँछु भनेर पर्खिरहेको थियो । मैले भिडियो खिच्दै थिएँ । सर्प आफ्नै सुरमा भागिरहेको थियो । लेन्सले लिँदासम्म लिएँ । साथीहरुले पनि आँखा च्याति च्याति कहाँनेर पुग्यो भनेर चिहाइरहनु भएको थियो । यत्तिकैम सर्प विलिन भयो । हामी लिन भयौँ । अनि बल्ल लामो श्वास फेरेर पानी खायौँ । जीवनमा गरिएका धेरै कर्महरुमध्ये यो पनि अनौठो कर्म र पुण्य कर्म भएको भनेर आफूआफूले ठान्यौँ । बीच जंगलमा फोटो लियौँ । खुसी साट्यौँ र साढे ११ बजेपछि त्यहाँबाट हामी फर्कियौँ । मलाइ पनि जीवनकै अचम्मको काम गरेको अनुभूति भयो । गाउँघरमा प्राय सर्प भेटिना साथ मार्ने परिपाटि र त्यसैमा भुलेको बानीले गर्दा सर्पलाई नियन्त्रण गर्नु र उद्धार गर्नु नितान्त नौलो मात्र लागेन मलाई यस्तो घटना जीवनमै दोहोरिएर कहिल्यै फर्के आउँदैन् भन्ने अनुभूति भयो ।

भिडियो लागि तल क्लिक गर्नुहोला ।

प्रकाशित मिति : २६ कार्तिक २०७६ मंगलबार ००:००  १ : १५ बजे