काठमाडौं ।
सीमा विवादबारे राजधानीमा आयोजित एक कार्यक्रममा नेकपा सचिवालय सदस्य बामदेव गौतमले एमालेबाट निष्काशन भएको दिन सम्झेका छन् । गौतमले कार्यक्रममा महाकाली सन्धिका बेला तत्कालीन एमालेमा भएको बहस र आफूहरुमाथि भएको कारबाही सम्झिए ।
गौतमले राखेको धारणाको सम्पादित अंशः
म धेरै खुसी भएको छु । नेकपा एमालेभित्र एउटा समूह निर्माण भएको थियो २०५२/५३ तिर । र, हामीले एकीकृत महाकाली सन्धिमा ठूलो बहस हुँदा सीमानाको कुुरा प्रमुख रुपमा उठाएका थियौं । त्यसले गर्दा पार्टी्भित्र यति ठूलो अन्तरविरोध पैदा भयो कि हामी निस्कासित हुनुर्पयो । मसहित एमाले निर्माण गर्ने महत्वपूर्ण व्यक्तित्वहरु निष्काशित भयौं र अर्को पार्टी नेकपा माले खोलेका थियौं ।
जहिलेसम्म नेकपा एमालेभित्र थियौं, यो विषय त्यतिकै चर्किएर उठेको थियो । र, त्यसबेलाको सरकार र पार्टीको संस्थापन पक्षले अनेक आरोप लगाए । फुटिसकेपछि हामी चार वर्ष अलग भयौं । फेरि त्यही पार्टीमा फर्किएर आउनुर्पयो । जे भए पनि आफैंले बनाएको घर थियो । रिस उठ्यो, बाहिर गइयो । आफ्ना कुरा त्यहीभित्र राख्नुपर्थ्यो भन्दै फर्कियौं । नफर्किँदासम्म पनि यो विषय प्रमुख थियो । पहिले रहँदा पनि यो विषय प्रमुख थियो । जब हामी फर्कियौं, यो विषय नै हरायो ।
आज फेरि नयाँ घटना भारत सरकारले घटायो, जसले गर्दा यो उट्यो । म यसो सम्झन्छु, राष्ट्रले जनताले कुनै पनि विषय उठाउन कुनै न कुनै ठूलो घटना घट्नुपर्छ । त्यसबेला एकीकृत महाकाली सन्धि गर्नुपर्छ भनेर अध्ययन गर्दै जाँदा हामीले धेरे विषयमा ठगिएको रहेछ भन्ने निष्कर्षमा पुग्यौं । र, एउटा ठूलो आन्दोलन विकसित भएको थियो । त्यो आन्दोलनले नयाँ पार्टी जन्मियो । त्यसले आफू हुँदासम्म सक्दासम्म विरोध गरेर जनतालाई जाग्रित गरायो । जनताले हामी ठगिएका रहेछौं भन्ने थाहा पाए ।
यसपटक भारत सरकारले जम्मु काश्मीरलाई दिएको विशेष अधिकार खारेज गर्दै केन्द्र शासित प्रदेश घोषणा गर्दा नयाँ नक्सा निकाल्यो, त्यो नक्सा हाम्रो देशभित्र एउटा विषय बन्यो । विषय त त्यसबेला पनि त्यही हो, त्यो भन्दा पहिले पनि त्यही हो । किनकी १९६१/६२ देखि भारतीय फैज बसेकै थियो । तर जनतालाई जाग्रित गर्ने, संगठित गर्ने विषय हुनुपर्दोरहेछ । यसपटक यो नक्साले नेपाली जनतामा राष्ट्रिय भावना विकसित भएको छ । ।
त्यसबेला नेकपा मालेले मात्र उठायो, अरु कोही आउनु भएन । आज २२ वर्षपछि राष्ट्रिय एकता कायम भएको छ । त्यसबेला नै राष्ट्रिय एकता कायम हुनुपर्थ्यो ।तर सरकारले नै प्रत्यत्न गरेन । सरकार कसरी आन्दोलनलाई सामसुम पार्नुपर्छ भन्ने तिर गए ।
आज फेरि उठेर आएको छ । यस पटकको जागरणले हाम्रो भूमिमाथि हाम्रो सार्वभौमता कायम गरेरै छोड्नेछ भन्ने विश्वास बढेर गएको छ । तर फिर्ता गर्नुपर्छ भन्नु गलत हुन्छ । दिएको चिज, खोसेर लगेको फिर्ता हुन्छ । सार्वभौमिकता खोसेर लैजान सक्दैन, यो अतिक्रमण हो । त्यसैले (सुस्ता र कालापानी) त्यहाँबाट भारतीय फौज हट्नुपर्छ । –अनलाइनखबरबाट
प्रतिक्रिया