नेपालगञ्ज ।
नेपाली कांग्रेस सम्बद्ध तरुण दलले आज बाँकेको नेपालगञ्जमा प्रहरीविरुद्ध प्रदर्शन गर्दैछ । आफ्ना नेताहरुलाई पक्राउ गरेको विरोधमा प्रदर्शन गर्न लागिएको बताइएको छ । बाँके प्रहरीले तरुण दल नेपालगञ्ज नगर समितिका सभापति सन्दीपजंग शाहसहितका नेताहरुलाई हतियारसहित पक्राउ गरेको र आफूहरुमाथि अन्याय गरेको भन्दै गाउँ-गाउँबाट कांग्रेस कार्यकर्ताहरुलाई नेपालगञ्जमा उतार्ने तयारी गरिएको छ ।
नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँका अनुसार नेपालगञ्ज पार्टी कार्यालयबाट निस्किने विरोध जुलुश नगर परिक्रमा गरी जिल्ला प्रशासन कार्यालय अगाडि सभामा परिणत हुने छ ।
सो सभालाई कांग्रेस केन्द्रीय सदस्य एवम् राष्ट्रिय सभामा प्रमुख विपक्षी दलका नेता सुरेन्द्र पाण्डे, कांग्रेस केन्द्रीय सदस्य रञ्जितसिंह राठौर, कांग्रेस बाँकेकी सभापति किरण कोइराला, तरुण दल केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँ, तरुण दल बाँकेका अध्यक्ष वीरेन्द्रबहादुर शाहलगायतले सम्बोधन गर्नेछन् ।
इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाही नेतृत्वको टोलीले १४ कात्तिकमा जानकी गाउँपालिका-६, गनापुरस्थित नमस्ते रिसोर्टबाट तरुण दलका नेपालगञ्ज नगर सभापति सन्दीपजंग शाहसहित ६ जनालाई पक्राउ गरेको थियो ।
तरुण दल बाँकेका कोषाध्यक्ष केशर खड्कासँग दशैंमा खसी मागेको अडियो सार्वजनिक भएपछि डीएसपी शाही विवादमा तानिएका छन् । उनीमाथि छानबिन गर्न प्रहरी प्रधान कार्यालय र प्रदेश ५ प्रहरी कार्यालयले अलग-अलग समिति गठन गरेका छन् ।
प्रतिक्रिया