११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

बागी शेरमान आए ठाउँमा, वाम गठबन्धनका साझा उम्मेदवारलाई सघाउने उद्घोष



पोखरा ।
बाग्लुङ २ ‘ख’ को प्रदेशसभा सदस्यका लागि शेरमान घर्तीले दिएको उम्मेदवारी मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट फिर्ता हुन नसकेपछि उनले नेकपा र राजमोका संयुक्त वामगठबन्धनका उम्मेदवारलाई नै सघाउने घोषणा गरेका छन् ।
हेलिकप्टर चार्टर गरेर भएपनि संयुक्त उम्मेदवार खिम विक्रम शाही विरुद्ध परेको बागी उम्मेदवारी फिर्ता लिन लगाउने नेकपाको प्रयास विफल भएपछि उनले बागलुङ सदरमुकाममा पत्रकार सम्मेलनमार्फत उपनिर्वाचनमा शाहीलाई नै सघाउने बताएका हुन् ।
उनले जारी गरेको विज्ञप्तिमा ‘विशेष कारणबस उम्मेदवारी फिर्ता हुन नसकेको’ बताएका छन् । साझा वामगठबन्धनका उम्मेदवार शाहीलाई समर्थन गर्दै आफ्नो स्वतन्त्र उम्मेदवारी फिर्ता लिएको बताएका छन् । उनले विज्ञप्तीमार्फत नै शाहीलाई भोट समेत मागेका छन् ।

उनको नाम स्वतन्त्रको हैसियतबाट मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दर्ता भएको छ । उनलाई उपनिर्वाचन कार्यतालिका अनुसार सोमबार चुनाव चिन्ह प्रदान गरिने छ ।

मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेका अनुसार १० जनाको उम्मेदवारी दर्ता भएको छ । नेकपाको समर्थनमा राष्ट्रिय जनमोर्चाबाट शाही, नेपाली कांग्रेसबाट जीतबहादुर शेरचन, समाजवादी पार्टीबाट अशोक विक, राप्रपाबाट गणेशबहादुर कुँवर र राप्रपा संयुक्तबाट नीमबहादुर भण्डारीले नाम दर्ता गराएका छन् ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अनीलकुमार राई, राष्ट्रिय जनमुक्ति पार्टीबाट यामबहादुर आले, मंगोल नेसनल अर्गनाइजेसनबाट मित्रबहादुर मगर र स्वतन्त्रबाट सन्तोष भण्डारी र शेरमान घर्तीमगरले उमेदवारी दिएका हुन् ।

भण्डारी विवेकशीलबाट उठ्ने भनिए पनि विवेकशील निर्वाचन आयोगमा दर्ता नभएकाले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७६ सोमबार ००:००  ८ : ३० बजे