११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

सिटीसंग हारको बदला लियो लिभरपुलले, ककसले गोल गरे ?



एजेन्सी । साबिक विजेता म्यानचेस्टर सिटीलाई इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा गम्भीर धक्का लागेको छ ।

साबिक उपविजेता लिभरपुलले घरेलु मैैदानमा म्यानचेस्टर सिटीलाई ३–१ ले पराजित गरेको हो । छैटौँ मिनेटमा फाबिन्होले गोल गर्दै घरेलु टोली लिभरपुललाई सुरुवाति अग्रता दिलाए । मोहम्मद सालहले १३ औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे ।

पहिलो हाफमा २–० को अग्रता लिएको लिभरपुलका लागि ५१ औँ मिनेटमा साडिओ मानेले गोल गरे र टिमलाई ३–० को अग्रता दिलाए ।

खेलमा फर्किने प्रयासमा रहेको म्यानचेस्टर सिटीका लागि बर्नार्डो सिल्भाले ७८ औँ मिनेटमा एक गोल फर्काएर केही आश दिलाए । तर त्यसपछि गोल थप्न सकेन र ३–१ ले पराजित भयो । सिटीका रहीम स्ट्रर्लिङ तथा सर्जियो अग्युरोले गोल गर्ने राम्रा मौका बनाए तर गर्न सकेनन् ।

हारपछि म्यानचेस्टर सिटीको लेस्टर सिटीलाई पुनः पछि पारेर दोस्रो स्थानमा पुग्ने मौका गुमायो । १२ खेलबाट २५ अंकसहित सिटी चौथो स्थानमा छ ।

जित निकालेको लिभरपुलको १२ खेलबाट ३४ अंक भएको छ । उ दोस्रो र तेस्रो स्थानमा रहेका लेस्टर तथा चेल्सी भन्दा ८ र चौथो स्थानको म्यानचेस्टर सिटी भन्दा ९ अंकले अघि रहेको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७६ सोमबार ००:००  ७ : ५३ बजे