११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

भारतद्धारा अघोषित रुपमा सिमानाका बन्द



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तु जिल्लास्थित नेपाल–भारत सीमा नाका विहान देखि बन्द भएका छन् । भारतले अघोषित रुपमा सिमानाका बन्द गराएको हो । यसअघि गरिएको सीमा नाका बन्दबारे नेपाली सुरक्षाकर्मीलाई पूर्व जानकारी गराउँदै आएकोमा शनिबार बिहानबाट एक्कासी सीमा बन्द गरिएको हो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार शनिबार देखि सिमानाका पूर्ण रुपमा बन्द छन् ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरिक्षक दीपशमसेर जवराका अनुसार भोली दिउँसोसम्म नाका खुल्न सक्छ । नाका खुलाउनका लागि पहल भैरहेको उहाँले मायादेवी अनलाइनलाई बताउनुभयो ।
बिहान देखि बन्द भएको नाकामा दिनभर आवत–जावत ठप्प भएको छ । बेलुकीपख सिमानामा केही चहलपहल देखिए पनि सर्बसाधारणका लागि आवत–जावत भने बन्द यथावत छ ।
विशेष स्रोतका अनुसार भारतले सीमा बन्द गराएको विषयमा आधिकारिक जानकारी दिएको थिएन् । भारतको अयोध्यामा राम मन्दिर र बाबरी मस्जिद विवाद प्रकरणबारे सुरक्षा सर्तकता स्वरुप सीमा बन्द गरेको हुनसक्ने नेपाली सुरक्षाकर्मीले अनुमान गरेका छन् ।
उक्त विवादमा त्यहाँको सर्वोच्च अदालतले शनिबार निर्णय सुनाउँदै जमिनबारे मुस्लिम पक्षको दाबीलाई खारेज गर्दै हिन्दु पक्षलाई जमिन दिन फैसला सुनाइसकेको छ । भारतले पछिल्लो समयमा गरेको नेपाली भूमि अतिक्रमणका विरुद्ध नेपालभर बिरोध तथा प्रदर्शन भएका छन् । कतिपयले सोही विरोधलाई लिएर भारतले अघोषित नाका बन्द गराएको हुन सक्ने आशंका पनि गरेका छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०७६ शनिबार ००:००  ८ : ३९ बजे