गिता अर्याल, वाणगंगा ।
प्रदेश साँसद विष्णु पन्थीले सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षालाई जोड दिनुपर्ने आवश्यकता भएको बताउनुभएको छ । अब मुलुकले दिगो विकासको लक्ष्य प्राप्त गर्न सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षालाई प्राथमिकतमा राखेर शैक्षिक गतिविधी संचालन गर्नुपर्ने बताउनु भएको हो । नेपाल राष्ट्रिय शिक्षक संगठन कपिलवस्तुले बुद्धभूमि नगरपालिका ४ बुड्ढीमा आयोजना गरेको जिल्ला स्तरीय परिचयात्मक तथा बनभोज कार्यक्रममा साँसद पन्थीले उक्त कुरा बताउनुभएको हो । कार्यक्रमका प्रमुख अतिथी साँसद पन्थीले शिक्षण पेशा सम्मानित पेशा भएकाले अझ व्यवस्थित र मर्यादित बनाउदै सामुदायिक विद्यालयको शैक्षिक उपलब्धी सुधार गरेर लैजान शिक्षकहरुको उल्लेखनीय भूमिका हुने स्पष्ट पार्नुभयो । उहाँले विद्यालयको नतिजा उत्कृष्ट बनाउन सके बजेटको अभाव पनि नहुने बताउनुभयो । कार्यक्रममा विशिष्ट अतिथी झविलाल पोख्रेलले शिक्षाको गुणस्तर खस्किदै गएको प्रति चिन्ता व्यक्त गर्दै सामुदायिक शिक्षकहरुले बढि मेहनत गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रदेश साँसद अर्जुन केसी, शिवराज नगर प्रमुख नेत्रराज अधिकारी, विजयनगर गाउँपालिका अध्यक्ष गोपाल थापा, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख थानेश्वर घिमिरे, शिवराज शिक्षा प्रमुख लोकराज पन्थी, शिक्षा निर्देशनालय बुटवलका रेश्मीराज अर्याल, शिक्षक संगठन प्रदेश नं.५ का सदस्य लिला खनाल लगाएतको सहभागीता रहेको थियो ।
कार्यक्रम नेपाल राष्ट्रिय शिक्षक संगठन कपिलवस्तुका अध्यक्ष रमेश पन्थीको अध्यक्षता, सचिव गोविन्द बेल्वासेको संचालन तथा गोकर्ण पोख्रेलको स्वागतमा सम्पन्न भएको थियो । शिक्षक संगठनले आयोजना गरेको कार्यक्रममा अन्य शिक्षक संगठनका नेता तथा शिक्षक सहित ६ सय बढिको सहभागीता रहेको थियो ।
प्रतिक्रिया