११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

सिमाविवादको विषयमा आज सर्वदलीय वैठक, के आउला निर्णय ?



काठमाण्डौँ । 

नेपालको कालापानी क्षेत्रमा पर्ने लिम्पियाधुरा, लिपुलेकका विषयमा पछिल्ला दिनमा देखिएका सीमा विवादबारे परामर्श गर्न आज सर्वपक्षीय बैठक बस्दैछ ।प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा.कुन्दन अर्यालले कालापानीका विषयमा परामर्श गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आज अपराह्न ४ बजेका लागि सर्वपक्षीय बैठक बोलाएको जानकारी दिए ।

उनले भने, “सीमा विवादका विषयमा सरकारले आफ्नो धारणा स्पष्ट पारिसकेको छ । प्रतिपक्षी दलहरुले पनि धारणा ल्याइसकेका छन् । सीमा समस्याको विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा दलहरुसँग छलफल गर्नुहुनेछ ।” उनले सीमा समस्यालाई कुटनीतिक ढङ्गले कुरा अगाडि बढाइने समेत बताए ।उनले प्रमुख प्रतिपक्षी पार्टी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालगायत पूर्व परराष्ट्रमन्त्रीहरूसमेत बैठकमा आउने जानकारी दिए ।

कालापानी क्षेत्रलाई समेटेर भारतीय पक्षले राजनीतिक नक्शा सार्वजनिक गरेपछि त्यसबिरुद्ध नेपालमा प्रदर्शन हुँदैआएका छन् । परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै कालापानीबारे भारतको एक पक्षीय निर्णय मान्य नहुने बताइसकेको छ ।

यता भारतीय हस्तक्षेपविरुद्ध देशभर नै प्रदर्शन सुरु भएको छ । विद्यार्थीसंगठनले भारतीय दुतावास घेरिरहेका छन् भने ठाउँठाउँमा प्रर्दशन पनि भएको छ । अर्घाखाँचीमा भारतीय टेलिभिजन बन्द गर्नु पर्ने माग गर्दै प्रदर्शन गरिएको छ । प्रदेश ५ का बुटवल लगायतका स्थानमा हिजो बाट विरोधका स्वरहरु चर्को रुपमा आउन थालेको छ  ।

प्रकाशित मिति : २३ कार्तिक २०७६ शनिबार ००:००  ८ : १५ बजे